यस्तै त हेा विदेशी जीवन !
बाहिर बाट हेर्दा र सुन्दा बिदेशी जीवन कस्तो राम्रो होला जस्तो लाग्छ विलाशिताको जीवन , टन्न पैसा, रमाइलो माहोल, बिदेशी स्वतन्त्र जिबन तर यो सोचाइ गलत हुन्छ । वास्तवमा बिदेश पुगेर जसले असली जिबन देखेको छ, भोगेको छ त्यसलाई मात्र थाहा हुन्छ कि वास्तवमा बिदेशी जीवन कस्तो हुदोरहेछ भनेर । जति हामी आफ्नो देशमा आफ्नो जन्मभुमी, परिवार, आफन्त र साथीभाइ सँग जति खुसी भएर बसेको हुन्छौ त्यतिनै बिदेशमा एक्लो र निरास जीवन भोग्नुपर्ने हुन्छ । मानिसहरु अनेकौ सपनाहरु बोकेर बिदेशी भुमिमा पाइला टेक्छन् । जब उ बिदेश भुमीमा पुग्छ अनि संघर्ष, दुख, पिडा, मिहिनेत, एक्लोपन हरेक चिजको सुरुवात हुन्छ । उसले जे सोचेर हिडेकेा हुन्छ त्यो भन्दा फरक देख्नु र भोग्नुपर्छ । बिदेश पुगेपछि कोहि पनि आफन्त, साथीभाइ हुदैन, कोहि कसैलै सहयोग गर्दैनन् । एक त आजकाल प्राय मानिसहरु स्वार्थी हुन्छन् त्यसमाथी बिदेशमा सबैजना दुई पैसा बढी कमाउन आएका हुन्छन् । सबैलाई आफ्नो काम र पैसा प्यारो हुन्छ । त्यसैले मान्छे बिदेश हिडेपछि आफ्नो ख्याल आफैँ राख्न सक्नुपर्छ । आफ्नै देशमा त नेपालीहरु आफ्नो हुन खोज्दैनन् भने बिदेशमा त परैको कुरा भो ।
विशेषगरी विभिन्न देशमा भिजिट भिसामा जाने र उतै बस्नेहरु बिदेश पुगेपछि अनेकौ यातना, पिडा भोग्नुपर्छ । सुरुवातीका दिनहरुमा भाषाको समस्या, नयाँ ठाउँ, नौलो परिवेश, कामको समस्या, काम पाए पनि थोरै तलब, पहिल्यै आएर ब्यवस्थित हुनेहरुले नयाँ मान्छेलाई हेप्ने तरिका, अर्काको देशमा कसैले केही भन्यो भने पनि सुनेर टुलुटुलु हेर्नू बाहेक केहि गर्न सकिँदैन । अझै त्यति बेला यति मन दुख्छ, रुन्छ जति बेला आफ्नै नेपाली दाजुभाइले परेको बेला पनि सहयोग गर्न खोज्दैनन्, अनेक बहाना बनाएर टाढा भाग्न खोज्छन् । बिदेशमा त आफ्नो आफन्त पनि टाढाको हुदोरहेछ । सबैलाई पैसाको मतलब, एकातिर आफ्नो घर आफन्त छोडेर अर्काको देशमा आएको पिडा अर्को बिदेश आएपछि एक्लो संघर्षको कहालीलाग्दो पिडा । सुरुका केहि समय त प्रदेशमा जिन्दगी र दुख सँग खुब लड्नुपर्छ, समय बित्दै गएपछि सब बिस्तारै ठिक हुँदै जान्छ अथवा बानी पर्दै जान्छ अनि आफु पनि त्यही माहोलमा भिज्न पुगिन्छ । सबैभन्दा ठुलो पिडा त्यो बेला हुन्छ जब आफू बिरामी पर्दा कोहि सहयोगि हुदैनन् । न त काम गर्ने ठाउँमा बिदा पाइन्छ । काम गर्दा मेसिन जस्तै चलाउनु पर्छ आफ्नो शरीर, हातखुट्टा । दिनहु १०/१२ घन्टा काम अनि थकित शरीर लिएर कोठामा जाउ, खाना पकाउ, एकछिन आफन्त साथीभाइ सँग कुरा गर, समय त्यतिकै बित्छ अनि ५ /६ घन्टा सुत्यो फेरि भोलि बिहानै उठ्येा
हतारहतार काममा दगुर्यो । दिनरात नभनी मरिमरि काम गर्यो, महिना मर्यो, तलब थाप्यो, भोलिपल्ट आफ्नो घर, आफन्त, साथीभाइलाई पैसा पठायो फेरि आफु रित्तो । तलब पाएको २ दिनमै गोजि रित्तै ।
बिदेशमा नेपालीको अर्को समस्या नेपाली मेहेनेती परिश्रमी हुन्छन् त्यहि भएर जहाँ पनि नेपालीलाई काममा खुब जोताउछन्, पेलाउछन् । बिदेश पुगेपछि नेपालीहरुले जस्तो सुकै काम पनि गर्नुपर्ने हुन्छ । पकाउने देखि लिएर भाडा माज्ने, सरसफाइ गर्ने, भारी बोक्ने सब काम गर्नुपर्छ । बिदेशमा काम ठुलो सानो भन्ने हुदैन । काम पाउनु नै ठुलो कुरा हो । बिदेशमा काम पाउन एकदम गाह्रो हुन्छ । त्यसैले जस्तो काम पनि गर्नुपर्छ । बिदेशमा सबैभन्दा समस्या बस्नेको हुन्छ । कोठा “अपार्ट्” भाडा महँगो तिर्नुपर्छ । एक्लै बस्दा तिर्न गाह्रो हुन्छ, धेरै जना बस्दा समस्या हुन्छ । दसतिरको मान्छे एउटै अपार्ट्मा बस्दा कुरा मिल्दैन, भान्सा मिल्दैन, जता पनि समस्यै समस्या, तर सबै समस्याबाट जुधेर आफू बस्न सक्नुपर्छ ।
वास्तवमा बिदेशी जीवन एक अति ब्यस्त जीवन हो । बिदेश पुगेपछि दायाँबायाँ बिर्सेर आफ्नो कामलाई मात्र महत्त्व दिनुपर्छ । कामलाई नै सबथेाक सम्झिनु पर्ने हुन्छ । अर्को मुख्य कुरा स्वास्थ्यको ख्याल गर्नुपर्छ । त्यसैले बिदेश पुगेपछि धैर्यता, आँट र मिहिनेतका साथ बस्नुपर्छ, काम गर्नुपर्छ । त्यस्तै बिदेश हिंड्नु भन्दा पहिले हजार चोटी सोच बिचार गरेर मात्र अघि बढ्नुपर्छ । बिदेश पुगेपछि पाइला पाइलामा चोट खानुपर्छ । त्यो चोटको औषधि घरबाटै आफैले बोकेर ल्याउनुपर्छ । आफुमा आत्मविश्वास, लगनशील भएर जस्तो सुकै परिस्थितिमा पनि लड्छु, हिम्मत हार्दिन भनेर मनमा राखेर मात्र बिदेशी सपना देख्नुपर्छ नत्र बिदेशमा आएर पाइला पाइलामा ठक्कर खानुपर्छ कतिपय बिदेशी माहोल र ब्यस्त जीवनमा भिज्न नसकेर आफ्नो देशमा रित्तो हात फर्किनु बाध्य हुन्छन् भने कतिपय मानसिक बिमारी हुँदै आत्महत्या गर्ने बाताबरण पनि हुन सृजना हुनजान्छ । त्यसैले अरुको देखेकै भरमा, सुनेको भरमा राम्रो सँग नबुझी म पनि बिदेश गएर टन्न पैसा कमाउछु मोज गर्छु भन्ने सोचाइ राखेर हावातालमा बिदेश हिंड्यो भने आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो । त्यसैले बिदेश हिड्दा सबै कुराको जानकारी लिएर पुर्ब तयारीको साथ हिंड्नुपर्छ ।