लिम्बुहरुले पोखरामा मनाए उधौंली पर्व
पोखरा/युएसनेपाल पाेस्ट
किरात याक्थुङ चम्लुङ पोखराको आयोजनामा बिहिबार विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय पर्व उद्योली मनाइएको छ । किरातहरुको राष्ट्रिय चाड उधौंलीपर्वको अवसर पारेर पोखरामा रहेका लिम्बु समुदायले कार्यक्रम आयोजना गरेका हुन् । उधौंली पर्व लिम्बुहरुले चासोक तङनाम (न्वागी पूजा) नामले मनाउने गर्छन ।
सो संस्थाले पोखराको माटेपानी गुम्बा कार्कीडाँडामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित चाड मनाएको हो । पोखरा र यसको वरपर रहेका किरात समुदायका मानिसहरुको बाक्लो उपस्थितिमा विविध कार्यक्रम गरिएको थियो । सो अवसरमा उनीहरु लिम्बु संस्कृति झल्कने केलाङ, धुनषवाण, च्याब्रुङनाच, चासोक तङनाम नाच, धाननाच, हाक्कपारेसाम्लो ख्याली पालाम लगायतमा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरु विभिन्न भेषभूषामा सजिएका थिए । आफ्नो भेषभूषा, लिपी, भाषा, कला, संस्कृति र संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौं भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजक किरात याक्थुङ चम्लुङ पोखराका अध्यक्ष धनबहादुर थेबेले बताए । पोखरामा छ महिना अगाडि स्थापना भएको यो संस्थाले पहिलो पटक उधौंलीपर्व मनाउन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्दघाटन बिट्रिस क्याम्प पोखराका प्रदीप लिम्बुले गरेका थिए । आयोजक संस्थाका अध्यक्ष थेबेको सभापतित्वमा भएको कार्यक्रममा कलाकारहरुले विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । स्थापनाको छोटो समयमा संस्थाले सबैलाई जुटाएर कार्यक्रम गर्नु महत्वपूर्ण भएको पोखराका अग्रज पत्रकार तिलक पुन पुर्जाले बताए । किरात सेवा समाज कास्कीका निर्वतमान अध्यक्ष लोकेन्द्र राईले संस्कृतिको संरक्षणका लागि कार्यक्रमले सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालभरी र विश्वभर छरिएर रहेका किरातीहरुले उधौंलीपर्व मनाउने गर्छन । किरातमा लिम्बु, राई, याख्खा र सुनुवार जाति गरी चार जातिले आआफ्नै तरिकाले उद्यांैली मनाउँछन् । लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), राई जातिले उधौंली साकेला, याक्खा जातिले चासुवा र सुनुवार जातिले फोलष्याँदर नामले यो पर्व मनाउने गरेका छन् । यी चारै जातिले मंसिरे पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आआफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आएपनि पछिल्लो समय यसलाई चार किरातीले आफ्नै शैलीमा सामूहिक माङहिम र स्थलमा भेला भई मनाउन थालेका छन् । रिसराग, इष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयतासाथ लिम्बू दाजुभाइ तथा दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रो र मीठो खाने तथा पाहुनाको सेवा सत्कार गर्छन् । चेलीबेटी हुक्वा (आफैंले बनाएको शोभित) र अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइतीघर आउने जाने गर्छन् ।
युवाहरु सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो), सामूहिक रुपमा केलाङ (च्याब्र’ङ) बजाएर ‘र्छुइ र्छुइ हा, सरलाइमा सर’ भन्दै नाच्छन् । नाता नपर्ने तरुण तन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउँदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाच्छन् । प्रौढ, बृद्धबृद्धा मुन्धुमी साम्लो, हाक्पारे लगायत गीत गाएर मनोरञ्जन गर्छन् । लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् ।
विशेषतः यो पर्व किरातीहरुको वाहुल्यता रहेका इलामसहित पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेहथुम, संखुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा भव्यताका साथ मनाउने गरिएको छ । यस वर्षदेखि पोखरामा पनि मनाउन थालिएको छ ।
उधौंली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।
प्रकृति पुजक किरात समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौंली पर्वको नामाकरण भएको मानिन्छ ।
यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उधौंली पर्वलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ । विभिन्न जातिले आफ्नो जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आआफ्नो तरिका फरक छन् ।
यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
भाषा, संस्कार संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौंली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आआफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आआफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।