बनिता शर्मा

प्लिज, यो समय देश बाहिर हुने कसैको पनि मनोबल गिराउने कुनै पनि कुरा नलेख्नु, नभन्नु होला…

सँसारका हरेक मानब जाती अहिले आफ्नो अस्तित्वको लडांइमा छन र सबैको मन भित्र एक प्रकारको डर छ । म पनि मन भित्र एक प्रकारको डर उत्पन्न भएर पनि बाँच्ने आशामा बर्षौँ देखी बस्दै आएको न्युवर्क शहर छोडेर केहि सुरक्षित हुन खोजिरहेको छु ।

 

निकै कोलाहाल र त्रासदीपूर्ण त्यहाँको जिवनबाट केहि छुटकारा लिन केहि हप्ता अगाडी नै म अमेरिकाको अर्को शहरमा पुगी सकेकोछु । यहाँ कती कोलाहल र कती डरका बिच हामी बसिरहेका छौँ सायदै हामी अनुभब गर्ने बाहेक नेपालमा बसेर हाम्रो जोक गर्ने लाई के अनुभब होला र ? केही समय यता हामीलाई खट्किएको खास गरेर युरोप, अमेरिकामा हुने नेपालीहरुलाई लक्षित गरेर सोसल मिडियाहरुमा बनाईएका जोक्स,मिम्स, मन बिझ्ने गरी लेखिएका स्ट्याटसहरु हुन र यो प्रचलन धेरै नै बढ्दो छ।यो पढ्दा, हेर्दा

हामीलाई हाम्रो चहराई रहेको घाऊमा नुनचुक छर्किए झै हुन्छ। हामी नेपाली संसारको जुनसुकै कुनामा रहु हाम्रा आमा -बुवा, दिदी-बहिनी, दाजु -भाई पिडामा पर्दा हामी बाहिर रहेकाहरुलाई पनि उत्तिकै पिडा हुन्छ। हिजो जस्तो लाग्छ भुईचालोले देश ढल्दा हामी पनि काम गर्ने ठाउँमा जोडीएको टेलीभिजनमा त्यो भयानक दृष्य हेर्न नसकी रुदै घर फर्किएको, अली अली पनि राहत होला कि भन्दै टोक्रो थापेर एकएक सुकी जम्मा पारेको, स्वयम सेवक बनेर नेपाल आमालाई फेरी उठाउन सकिन्छ कि भनेर जागिरनै लात हानेर मातृभूमी कुदेको । यस्तो कुन चाँही दु:ख, पिडा नहोला जहाँ आफ्ना नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई दु:ख पर्दा आफ्नो गास काटेर हामीले आफ्नो सहभागिता नजनाएको ? यस्तो कुन पल होला हामी टाढा रहेर पनि हामी आफ्नो कर्तब्यबाट चुकेको?

कुन चाँही यस्तो दु:ख, पिडा होला जहाँ घरदेश रुदा परदेशीको आँखा नभीजेको? यो समयमा यस्ता कुराहरु उप्काएर हामीले गरेको सहयोग, सद्भभावको गिन्ती गराउन खोजेको नठान्नु होला। किनकी प्रेम, स्नेह, सद्धभाव त्यो अनमोल चिज हो जसलाई कुनै शब्दले व्याख्या गर्नै सक्दैन। बस् यती मात्र भन्न खोजेको हो कि हामी जहाँ रहु हाम्रो एकता जिउदो रहोस्, हाम्रो भाईचारा कतई नमरोस। हामीलाई थाहा छ सबै हाम्रो पिडामा सकरात्मक भाव लिएर हाम्रो हौसला बढाउदै हाम्रो साथ खडा हुनुहुन्छ। तर, जसलाई हाम्रो पिडाले छोएको छैन उहाहरुलाई मेरो दस औंला जोडेर आग्रह छ – प्लिज, यो समय देश बाहिर हुने कसैको पनि मनोबल गिराउने कुनै पनि कुरा नलेख्नु, नभन्नु होला…

कोरोना भाइरसले अहिले अमेरिका त्यसमा पनि न्यूर्योकलाई नराम्रोसँग थला पारेको छ । दैनिक एक करोड २० लाख भन्दा माथि मान्छे ओहोरदोहोर गर्ने विश्वको यो ब्यस्त शहर अहिले शून्यतामा झरेको छ । मान्छेहरु एपार्टमेन्ट, घरको झ्यालको सिसाबाट बाहिर चियाउँछन् । बाहिर एक तमासले दौडिरहेका एम्बुलेन्स, तिनका पट्यारलाग्दा आवाज मात्र एकोहोरो सुनिन्छ ।
तिन साता हामीले यस्तै भोग्यौं । न्यूर्योकको क्वीन्स काउन्टी, जहाँ नेपाली र साउथ एशियनको बाहुल्य छ । कोराना भाइरसको संक्रमण असाध्यै बढी छ त्यहाँ ।
क्वीन्स नजिकैको इल्महस्र्ट हस्पिटल सुविधासम्पन्न त छ, तर, कोरोनाको भरपर्दो उपचार हुँदैन । विरामी थुप्रिएका छन् । कतिको ज्यानै गइसक्यो ।

हामी त्यही हस्पिटलको क़रीब १५, २० मिनेटको दुरीमा बस्थ्यौं । अधिकांश नेपालीहरुको बस्ती नै यही हस्पिटल वरिपरि छ ।
अहिले सम्म न्युयोर्कमा रोकथामको लागि प्रभावकारी केहि गरेको देखिएको छैन, न त लकडाउन गरेको छ । न पर्याप्त साबधानी अपनाएको देखिन्छ । मात्र स्टे होम, सेभ लाइफ मात्र भनिरहेको छ ।
दैनिक न्युयोर्क सिटीको मेयर ब्लाजियो र स्टेट गभर्नर एन्ड्रु कुमोले यति बिरामी थपियो, यतिको मृत्यु भयो मात्र भनिरहँदा मन चसक्क हुन्छ । संघिय सरकारले १००० शैय्याको क्रुज हस्पिटल पठाएको छ । न्युयोर्क राज्यले न्युयोर्क सिटी लगायत अन्य राज्यहरुमा अस्थायी हस्पिटल बनाईरहेका छन् ।

हस्पिटलमा भेन्टिलेटर अभावले ७२ घण्टा मा नै विरामीको मृत्यु भएको छ । डाक्टर नर्सहरुले फोहोर प्याक गर्ने प्लास्टिकले शरीर बेरेर विरामीको उपचार गर्दैछन । हस्पिटलले उपचार सामग्री थप्न सकेको छैन । हस्पिटल बाहिर आईस सहितको कन्टेनर ट्रक लाश राख्न तयारी अवस्थामा देखिन्छ । घर भित्र बसेर भगवान पुकार्नु बाहेक अरु त्यहाँ बिकल्प केहि छैन । कति नेपाली दाजुभाई दिदीबहिनीहरु अहिले न्यूर्योकमा हुनुहुन्छ । मिलेसम्म त अरु स्टेटतिर पनि सिफ्ट भएका छन् । तर, सबैको व्यवहारिक पाटो मिल्दैन । त्यसैले बाध्य भएर घर भित्रै सुरक्षा अपनाएर बसिरहेका छन् ।
न्युयोर्कमा प्रहरी अधिकारी र स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिएको छ। सरकारले अझैसम्म अनिवार्य लक डाउन भने गरेको छैन। प्रत्येक दिन दस हजारको दरम बिरामी बढ्नु ठूलो खतराको संकेत हो भन्ने धेरैलाई थाहा छ । तर स्थिति नियन्त्रणमा हुने छाँट छैन ।
सुरुमा चाईनीज भाईरस भन्दै सार्वजनिक रुपमा खिसीट्युरी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो संक्रमणप्रति गम्भीर नभएको आरोप चारैतिर छ। दिनहूँजसोका उनका पत्रकार सम्मेलनले कोरोना कहर घटाएको छैन। बरु हजारौँको संख्यामा बढिरहेको छ।
यस्तो महामामारीबाट जोगिन घरैमा सुरक्षित उपाय अपनाउने, घरभित्रै बस्ने त छँदैछ । साह्रै तनावका बीच हामी भने सिफ्ट हुन सफल भयौं । अहिले एक किसिमले मन प्रफुल्ल भएको छ ।
म नेपालमा हुने साथिहरुलाई पनि सरकारलाई गाली गर्नु को सट्टा सरकारले आव्हान गरेको कुरामा साथ दिन विनम्र अनुरोध गर्छु । सुरक्षित साथ घरभित्र बस्नुहोस र नेपाल सरकारले कोरोना संक्रमण रोक्न चालेको कदममा साथ दिनुहोस् भन्न चाहान्छु । नेपाल सरकारले पनि पर्याप्त जाँच केन्द्र बनाउने, आवश्यक उपकरण जुटाउने, सुरक्षित क्वारेण्टाइन बनाउने जस्ता काममा ढिलो गर्न हुँदैन ।
सजग र साबधान रहौं हामी सबै ।

अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected