स्वच्छ हावामा सास फेर्न मन छ

मानवताको इतिहासमा महामारीहरु शताब्दीकै त्राश र विनास बनेर आए पनि मेरो जीवनकालको चाहिं अहिले सम्मको ठूलो महामारी हो यो कोरोना’ । जीवनको ३।४ दशक विताएसकिको र नसिंग पेशामा २ दशक बढी सेवा गरिसकेकि मलाई यो महामारी अचम्मको लागेको छ। हुन त अहिलेको समयको हामी सबै यो ‘कोरोना’ भाइरस को त्रास र विनीशको साक्षी भएर इतिहास भन्ने छौ भोली। आफ्ना भेगाइ, दुख, पिडा अनि आत्मबल र मानबताको कथा लेख्ने छौ। किनकि हामीले प्रत्यक्ष अप्रत्यक्ष यो रोगलाई साक्षातकार गरेका छौ। हामी सबैको जनजीवनमा सकारात्मक नकारात्मक प्रभाव परेकोछ। रोग आफैमा एक समस्या हो।तर यसको जटिलताले आफैमा जीवनमरणको दोसाधमा पुर्याएको छ मानिसलाई अनि यसले सामाजिक एंव मानसिक रुपमा पनि अत्यन्त नराम्रो प्रभाव पारेको छ।
म एक ‘नर्स’ पेशाले नै रोग, पिडा र शोकमा मलम बन्छु भनेर अंगालेको पेशा हो यो। जीवनकालको करिव आधा भन्दा बढी उमेर यही पेशामा विताएकी छु। कुष्ठ रोग, एडस, फ्लु,हैजा, टीबी, लहरे खोकी, नेपालमा काम गर्दा अनि अमेरिका आइसके पछि वेस्ट नाइल, इबोला, सार्स, सि-डेफ् जस्ता संक्रमणसंग लडेकी छु। कतिपय सक्रामक रोग त आफू एक्सपोज भइसके पछि मात्र थाहा पाइन्छ। तर पनि दरो मुटु गरेर काम गरेकै हो। त्यसकारण सक्रामक रोग संग लड्न कुनै नौलो कुरो होइन एक नर्सलाई। नर्सहरुको ड्यूटी आवर लामो हुन्छ। कतिपय कोरोना लागेर जिवन मरणको युद्द लडि रहेका विरामीहरुको व्यक्तीगत स्याहार सुसार, नेवुलाईजर, स्कसन, दिसापिसाबसंग संसर्ग हुन्छ नर्सको।कतिपय प्रोसिडर एकदमै निकट रहेर गर्नु पर्ने हुन्छ। यदि सघनकक्षमा काम गरेको छैन भने पनि
शारिरक दुरी कायम राख्ने र प्रत्यक पटक संसर्गमा पिपिइ लाउन असंभव हुन्छ।
मार्चको दोश्रो हप्ताको शुरुवात हुनु पर्छ। कोरोनाको बिगिबिगि अमेरीका मा प्रबेस गरेको हो। स्वभावैले म समसामायिक विषयमा अलि जानकारी राख्ने भएको कारणले यो कोरोनाको बिषयमा पनि अपडेटहरु लिइ राखेको थिएँ। मैले बिहान हुने मिटिडमा सर्जिकल मास्क लगाउने प्रताब राख्दा मनपराइएको थिएन। जसले झल्काई रहेको थियो म्यानेजमेन्ट सिरियस छैन भन्ने । त्यो दिन त मैले मास्क
लगाइन तर ज्वरो, खोकी भएका विरामीहरुको केयर गर्दा चाँही अलि मन ढक्क भएकै थियो । त्यही दौरानमा एकै दिनमा २ वटा विरामीको ‘चेष्ट एक्सरे’ निमोनिया पोजेटिभ हुनु साँच्चै नै झस्कायो मलाइ। ज्वरो र निमोनिया भएका विरामीलाई टेस्ट गर्ने चलन थिएन। १।२ चोटी त ती विरामीहरुले खोकेको आफ्नै मुखमा अनुभव गरेकी थिएँ। व्यक्तिगत एंव पेशागत रुपमा म सेवा गर्न चाहन्छु तर सुरक्षीत हुनु मेरो अधिकार हो भन्ने सोचेर मैले भोली पल्ट पुनः म्यानेजरसंग कुरा गरेर मास्क लगाउन शुरु गरे। नाक खुम्चायाउंदै स्वितृति दिइएको थियो।अचम्म लाग्यो। समाचारमा राजनितिज्ञहरु भनि राखेका थिए हामीसँग पर्याप्त ‘पिपिई’ छ।
मार्चको चौथो हप्तातिर अनायासै आफै बिरामी परे। ज्वरो आउने, शरिर दुखने, छाती दुख्ने, रिंगाटा लाग्ने, सास फेर्न गार्हो हुने भयो। खोकी त मलाई जनवरीमा नेपाल गए देखी नै लागेको थियो। एक दुइ दिन यी लक्षणहरुलाई मिचेर काममा गएँ तर सकिन धेरै दिन टिक्न। कोरोना परिक्षण गरें मेरो डाक्टरको सल्लाह अनुसार। तेइस वर्ष देखी व्याक्टेरीया र भाइरससंग खेल्दै आएकी म यो संक्रमणमा पो परेकी भनेर पीर लागेको थियो । मेरो ठूलो चिन्ता भनेको यो रोग मैले कतै मेरी बृद्दा आमालाई पो ल्याएर सारे की? परिवारलाई सारे की? भन्ने पीर ठूलो थियो मलाई आफ्नो भन्दा पनि। मनमा कोरोना टेष्ट नेगेटिभ आँउछ होला जस्तो लागे पनि डराउन पर्ने संभावित खतराहरुबाट भने मुक्त थिइन। किनकि म काममा ‘एक्सपोज’ हुन सक्ने पर्याप्त संभावना थियो जहाँ ज्वरो आएका, निमोनिया भएका विरामीहरुको टेस्टिंग चिना र न्यून ‘पिपिई’ सहित काम गरि रहेकि थिए।
जनवरीमा आफ्नो पहिलो कविता संग्रह ‘विम्व’ र गीति एल्वम ‘सुरबी’ को लोकार्पण गर्न ‘चाइना’ को बाटो भएर गएकी थिएँ। म संग कोरोनासंग मिल्दो जुल्दो लक्षणहरु थिएँ। जे भए पनि जीवनले दुख र पिडासंग लड्न सिकाएको रहेछ। डर र अन्यौलको स्थितिमा ६ दिन आइसोलेसनमा बसे। जति सक्यो आत्मबल दरो बनाएकि थिएं। आइसोलेसनको समयमा रचनात्मक कार्य, योगा, साहित्य संगीत अभिन्न अंग बने। आफ्नो कोरोना परिक्षणको जानकारी फेसबुक मार्फत दिएकि थिएं। कतै कोहि मेरो संसर्गमा आएका मान्छेहरु सचेत बनुन् भनेर। डाक्टरले दिएको एन्टिवाइटिक र स्टेरेवाइडले काम गर्न थाले पछि मनमा कोरोनाको संक्रमण होइन भन्ने अडान बढ्दै गएको थियो। त्यस्तै एक प्रकारको ग्लानी पनि भइ राखेको थियो।म काममा गएको छैन भन्ने। यो समय त स्वास्थ्यकर्मी चाहिने समय हो। मेरो आइसोलेसन युनिटमा म खम्बा जस्तै भएर काम गरेको थिएँ । यो क्राइसिसको बेला म घरमा छु जस्तो लागेको थियो। यो आइसोलेसनको बेलामा मेरो भरपुर हेरविचार गर्ने मेरा जीवनसाथी विकास, ममि र छोरी सुरबीले शारिरिक एंब मानसिकरुपमा निकै सहयोग गरे। अहिलेको समयमा हामी स्वास्थ्यकर्मीलाई पारिवारिक सहयोग, सद्भाब र मायाको अत्यन्तै जरुरत छ भन्ने कुरा मैले त्यती खेर महुशुस गरे। सात समुन्द्र पारीबाट पनि मेरो सुत्ने र उठ्ने समयको समेत रुटिन बनाउने बहिनी मलाई शारिरिक रुपमा पनि टाढा छे जस्तो लागेन। साथै परिवारका सदस्यहरु, प्रियजनहरु अनि साथीभाइ र इष्टमित्रको माया, आशिर्वाद र सुभेच्छाले रिपोर्ट नेगेटिभ आयो। भोलीपल्ट देखीनै काममा फर्किए। ६ दिन पछि काममा फर्किदा स्थिति अलि जटिल बनिसकेको रहेछ। ‘पिपिई’ दिइन थालेको रहेछ तर गनेर। N-95 मास्क जिवन भरको लागी १ थान पाएको थिए। गाउन सप्लाइ कम भएको कारणले ‘विरामीको गाउन नै प्रयोग गर्न भन्ने आदेश रहेछ। कार्यकक्ष भित्र पनि ६ फिट दुरी कायम गर्ने भन्ने नियम बनेछ। साथै संस्थाले प्रोत्साहन स्वरुप संक्रमण छउन्जेल घण्टाको २ डलर बढाउने अनि २ हप्ताको भ्याकेसन अफर गरेको रहेछ। यी सकारात्मक र उर्जामुलक कदमले अवश्य नै उर्जा थपेको थियो। साथै हामीमा संक्रमण सर्न सक्ने खतरा बढेको छ भन्ने कुराहरु पनि प्रष्ट देखिन्थ्यो। हुन त यी सब बिशेष सुविधाहरु नदिएको भए पनि काम गरि नै राखथ्यौ। मन र वचनले आवध्द पेशा हो यो ।
अर्को गजबको परिवर्तन पनि देखे मैले मेरो कार्यस्थलमा. आजकाल मेरा ‘नर्स हाकिमहरु युनिटमा त्यति आँउदा रहेनछन्। सकेसम्म अफिसबाटै काम सक्काउने र त्यतैबाट हिड्ने चलन बसेको रहेछ। मनमनै हाॅसो उठ्यो। यीनै हुन् मलाई एउटा सर्जिकल मास्कसम्म दिन हिच्किचाउने हाकिम। जव कि म अधिकाॅस समय विरामीको कोठामा हुन्छु। ‘सस्पेक्टेड’ विरामीको व्यक्तिगत केयर, टेष्टस्वाव’, नेवुलाइजर, अक्सिजन, अनि अन्य केयर गर्दा खस्केको मनोस्थिति प्रसंग उठाउँदा गत हप्ता मलाई ‘हिरो’ ‘मोडल’ हुन खोजेको जस्तो गर्दै व्यंगायात्मक हाॅसो हाॅसेकि यी नर्स हाकिमको अनुहार नियाल्छु। N-95 मास्क र त्यो माथि सर्जिकल मास्क लाएकि रहिछन्। ति मास्कहरु पुन: व्यंग्य गरि मतिर नै फर्किएका थिए। अनि मेरी सहकर्मी तिर ॲाखा दैडाएं। उनको मुखमा सर्जिकल मास्क मात्र थियो किनकि उनी जनरल युनिटमा काम गर्थिन्।
मेरा सहायकहरु र म पटकपटक ‘लौ मलाइ यो रोग सर्यो कि?’ ‘अब अर्को चोटीको बिरामीको कोठामा जाॅदा कुन गाउन र ग्लब्स लगाएर छिर्ने विरामीको कोठामा?’, कतिखेर कुन विरामी मर्ने हो? कस्कौ रिपोर्ट पोजेटिभ आउने हो? आदि इत्यादि प्रश्न र मनोभावहरु N-95 मास्क भित्र गुम्सिएको सास जस्तै गुम्सिएका हुन्थे।आफुले नै खोक्दा र हाच्छ्यु गर्दा त्यही मास्क भित्र थुनिएर रहेका आफ्ना थुक र सिंगानका छिटाहरु, फेससिल्ड लाए पछि बाफिएर भाउन्न भएको टाउको अनि विरामीहरुले अनायासै गरेका वान्ता,बगेका रगत, ६ फिट त के ६ अंगुल पनि दुरि नहुने गरेर गरेको विरामीको स्याहार र एक्सपोजर यी सहि गरेर खाने नर्स हाकिमले के बुझ्नु? मनमनै हाॅसेर पचाइ दिन्छु, हाकिमेपारा।
वेड साइड नर्सिंग’ गर्ने मेरो नै निर्णय हो। हुन त मेरो योग्यता र अनुभवले नर्स हाकिम हुन पुग्छ। प्रस्ताब पनि आएको हो तर आत्म सन्तुष्टीको लागि बेडसाइड नर्सिङ रोजेकी हुँ । मलाई विरामीहरुसँगको interaction मन पर्छ । प्रत्येक दिन उनीहरुसंगको कुरीकानी, अनि दुखाइबाट र पीडाबाट मुक्त भएपछि मेरा विरामीहरुको ओठमा सल्बलाएका मुस्कान हेर्नलाई मैले बेडसाइड नर्सिंग नछोडेकि हुं।मलाई रोग र पीडाबाट मुक्ति पाए पछि विरामीको ओंठमा सल्वलाएको मुस्कान र ॲाखाको चमक हेर्दा चरम सन्तुष्टी मिल्छ। त्यहि लोभले मलाई यो पेशामा टिकाएको छ । खुशी छु।सन्तुष्ट छु।तर हाकिमहरूको ‘एक्पोज’ हुन नखोज्ने पारा अनि ज्यान जोखिममा राखेर काम गर्नेप्रतिको व्यंग्य अपाच्य हुन्छ। तर मानवताले पचाइ दिन्छु। आफ्नो कर्तव्य र पेशाप्रतिको समर्पणमा केन्द्रित हुन्छु।
त्यस्तै मेरो पारिवारिक र व्यक्तिगत जीवनमा पनि यो कोरोनाले निकै गहिरो असर पारेको छ । मेरो सासूआमाको नेपालमा देहान्त हुँदा पनि मेरो जीवन साथी कृयाकर्म गर्न नेपाल जान सकेनन् । घरमा शोक परेको छ।सहन गर्ने हामी ४ जनाको परिवार छौं । सायद मेरो जीवनसाथीको जीवनमा यति ठुलो वियोग अरु नहोला । आमाको मृत्यु हुँदा सम्म पनि गएर मुख हेर्न र अन्तिम संस्कार गर्न पाएनन् । कोरोनाको कारण वायुसेवा वन्द छ। आमा वितेको खबर पाएर पनि कोरामा बस्ने सामानहरू आफै किनेर ल्याएर बस्नु परेको छ। यति खेर बुझें परदेशको वसाइ के रहेछ। कोरा बसेको वेला गाउं भरिका मान्छे र आफन्तहरुको घुइंचो लाग्छ नेपालमा। आफुले सकेसम्मको सहयोग सबैले गरेका हुन्छन्। किरियापुत्रीलाई एक्लै बस्न दिंदैनन्। अहिले कुरा बुझ्दै छु त्यो मानसिक रुपमा ब्यस्त गराउने र शोक भुल्ने उपाय रहेछ।तर यौ कौरोनाले परदेशमा बनाएको आफन्त र समाजको पनि सहयोग लिन नमिल्ने अवस्था सृजना गरिदिएको छ। आफ्नो पीडा र दुख शोक आफै लड भनेको छ। हुन त सबै कुराको दुइ पाटो हुन्छ। यो कोरोनाले हाम्रो परिवारलाई शोकमा लड्न सिकाएको छ। आफ्नो समस्या आफ्नै हुन्छ भन्ने कुरा बुझाएको छ।
संसार भरि फैलिएको यो महामारीले व्यक्तिगत, पेशागत र सामाजिक रूपमा सकाराात्मक र नकारात्मक दुवै किसिमले असर गरेको छ।एक व्यक्तिको रुपमा म आफू के हुँ र कर्तव्य के हो भनि सोच्न सिकाएको छ, मेरो आइसोलेसनले भने हिंड्ने, डुल्ने, स्वच्छ स्वास फेर्ने स्वतन्त्रता गुमेको छ। त्यसतै एक नर्सको रुपमा ठुलो चुनौति सामना गर्न परेको छ।आफ्नो र परिवारको स्वाश्थ्यको खतारा छ। तर एक जुझारु र अडिग नर्स वनाएको छ।सामाजिक रुपमा यो शोकको घडिमा आफन्त र परिवारको आवश्यकता निक्कै खड्किएको भएता पनि आफ्नो समस्यासंग आफै जुध्नु पर्छ भन्ने सिकाएको छ यो कोरोनाले।यो महामारीले धेरैको ज्यान लिइ सकेको छ। यसले खडा गरेको चुनैतिको पहाड छिट्टै ढलोस्। आशा गरौं यसले सिकाएको नैतिक पाठ मनन गर्दै यसलाई अव बिदा गर्न पाइयोस्। स्वच्छ हावामा सास फेर्न मन छ। मेरा विरामीहरुलाई पुन: ॲकमाल गर्न मन छ।