आर्थिक वर्ष २०१९ सम्ममा कति जना नेपालीले लिए होलान् अमेरिकाको ग्रिन कार्ड ?विगतका केही दशकमा नेपालबाट अमेरिका आउने र यही कानुनी स्थायी बसोबास गर्ने अर्थात् यहीको “ग्रिन कार्ड” लिने नेपालीहरूको सङ्ख्या बढ्दो छ। नेपालीहरू विभिन्न तरिकाबाट अमेरिकाको ग्रिन कार्ड लिई रहेका छन् – जस्तै, अमेरिकाको नागरिकता लिई सकेका आफ्ना नजिकका नातेदारहरूले प्रायोजन गरेर, अमेरिकन नागरिकता वा ग्रिन कार्ड लिएका व्यक्तिहरूले प्रायोजन (sponsor) गरेर, अमेरिकाका उद्योगधन्दा वा व्यवसायहरूले प्रायोजन गरेर, डी भी चिट्ठा परेर (diversity visa lottery), वा शरणार्थीको रूपमा पनि धरै नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड पाएका छन्।

 

अमेरिकाको ग्रिन कार्ड लिएका  तर अमेरिकी नागरिकता लिई नसकेका व्यक्तिहरू नेपाली नागरिक हुन् र उनीहरूले अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्दा नेपाली पासपोर्ट नै प्रयोग गर्नुपर्छ। विगतका केही वर्षमा हजारौँको सङ्ख्यामा नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिई रहेका छन् र ग्रिन कार्ड लिने र समय पुगेपछि अमेरिकाको नागरिकता लिने नेपालीहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दो छ।

 

के हो ग्रीन कार्ड ?

“ग्रिन कार्ड” होल्डर अर्थात् कानुनी स्थायी बासिन्दाहरू (Lawful Permanent Residents) अमेरिकामा स्थायी रूपमा बस्न अनुमति भएका गैर-नागरिक हुन्। “ग्रिन कार्ड” हुने व्यक्तिहरूले विशेष अनुमति बिना काम गर्न पाउँछन्, आफ्नै नाममा सम्पत्ति खरिद गर्न सक्छन्, सार्वजनिक कलेज र विश्वविद्यालयहरूमा अध्ययनको लागि आर्थिक सहयोग लिन सक्छन् । ग्रिन कार्ड हुनेलाई केन्द्रीय सरकारबाट कानुन सम्मत दिइने सुविधा र अन्य अवसरहरू प्राप्त हुन्छन्। ग्रिन कार्ड लिएका नेपालीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अधिकार छ र उनीहरूलाई अमेरिका प्रवेश गर्दा भिसा लिई रहनु पर्दैन। तर, ग्रिन कार्ड हुनेले केन्द्र सरकारका जागिरहरू (Federal Jobs) गर्न पाउँदैनन्, ग्रिन कार्ड हुनेले अमेरिकाका कुनै पनि निर्वाचनहरूमा उम्मेदवार हुन् वा भोट दिन पाउँदैनन् र ग्रिन कार्ड हुनेले अमेरिकी अदालतमा जुरीको रूपमा सेवा गर्न पाउँदैनन्। यी सबैको लागि अमेरिकन नागरिक हुनुपर्छ।

 

“ग्रिन कार्ड” होल्डरहरू आवश्यक योग्यता पुरा गरी निश्चित समय पछि अमेरिकी नागरिक बन्न को लागि पनि आवेदन दिन सक्छन् । ग्रिन कार्ड लिएको कति समय पछि अमेरिकी नागरिकता को लागि निवेदन दिन मिल्छ भन्ने कुरा यस्ता व्यक्तिले ग्रिन कार्ड कुन तरिका बाट लिएको हो भन्ने कुरा मा भर पर्छ।  जस्तै, कुनै व्यक्तिले कामको माध्यम बाट ग्रिन कार्ड लिएको छ भने ग्रिन कार्ड लिएको ५ वर्ष मा अमेरिकी नागरिकता को लागि निवेदन दिन सक्छन् भने अमेरिकी नागरिक सँग विवाह सम्बन्ध को कारण ग्रिन कार्ड पाएको भए ३ वर्ष मा नै नागरिकताको लागि निवेदन दिन पाइन्छ।  यो लेख मा अहिले सम्म कति जना नेपालीहरूले ग्रिन कार्ड पाए र कुन तरिकाले ग्रिन कार्ड पाएका छन् भन्ने बारेमा प्रकाश पार्न खोजिएको छ।

 

तथ्याङ्कको श्रोत

अमेरिका आउने नेपालीहरूको सङ्ख्या सन् १९८० को दशकभन्दा अगाडि नगण्य भएको र तथ्याङ्कहरूको सहज उपलब्धताको आधारमा यस लेखमा आर्थिक वर्ष १९८६ र त्यस पछिका तथ्याङ्कहरू मात्र समावेश गरिएका छन्। अन्यथा उल्लेख भए बाहेक यस लेखमा समावेश सबै तथ्याङ्कहरूका श्रोत अमेरिकाको गृह मन्त्रालय (U.S. Department of Homeland Security) हो । यहाँ समावेश भयका तथ्याङ्क Department of Homeland Security को website मा विभिन्न फाइल हरूमा छरिएर रहेका सूचना मध्ये बाट यो लेख सँग सम्बन्धित सूचना खोजेर प्रस्तुत गरिएको छ।

 

अहिलेसम्म कतिले लिए होलान् अमेरिकाको ग्रिन कार्ड ?

नेपालको अमेरिकासँग सन् १९४७ मा दुई पक्षीय दौत्य सम्बन्ध र सन् १९५९ मा काठमाडौँमा अमेरिकाको राजदूतावासको स्थापना हुनुभन्दा पहिले नेपालबाट अमेरिका आउने नेपालीहरूको सङ्ख्या विरलै थियो। नेपालमा सन् १९५० मा राणा शासनको अन्त्यपछि अमेरिकामा आउने नेपालीहरूको सङ्ख्यामा बिस्तारै वृद्धि हुँदै थियो। तर, सन् १९६० मा प्रजातन्त्रको हत्या पछि यो क्रममा शिथिलता आयो। तर, सन् १९९१ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना र अमेरिकामा सन् १९९० मा तत्कालीन अमेरिकन ४१ औँ राष्ट्रपति जर्ज वाल्कर बुस को समयमा पारित डाइभर्सिटी प्रोग्राम (diversity program) पनि भएको अध्यागमन कानुनले सृजित वातावरणले नेपालीहरूको अमेरिकामा आउने क्रम को वृद्धिमा महत्त्वपूर्ण भूमिका निभायो। त्यस्तै नेपालमा माओवादी आतङ्कबाट सृजित वातावरणले ठुलो सङ्ख्यामा नेपालीले अमेरिकामा शरणार्थी बने र यस माध्यमबाट ठुलो सङ्ख्यामा नेपालीहरूले ग्रिन कार्ड पाए। अमेरिकाको ४५ औ राष्ट्रपति Donald Trump को पालामा (सन् २०१७ जनवरी २० देखि सन् २०२१ जनवरी २०) उनको विदेशी प्रतिको रवैया तथा कोविड-१९ को कारणले गत वर्षमा सबै काम ढिला भएकोले यो अवधि मा अमेरिकी ग्रिन कार्ड लिने व्यक्तिको सङ्ख्या मा पनि कमी आएको हुन सक्छ।

 

Graph 1. Number of People Born in Nepal who Received Lawful Permanent Residency Status (Green Card) in the U.S., Fiscal Year 1986-2019

 

Graph १ मा देखाए जस्तै  विगत ३३ वर्षको प्राप्त तथ्याङ्कबाट के देखिन्छ भने आर्थिक वर्ष १९८६ (October 1, 1985 to September 30, 1986) मा जम्मा ८६ जना नेपालीहरूले अमेरिकाको स्थायी बसोबासको प्रमाणपत्र (ग्रिन कार्ड) लिएका थिए भने आर्थिक वर्ष २००२ मा वार्षिक १,००० भन्दा नेपालीहरूले ग्रिन कार्ड लिए र आर्थिक वर्ष २०११ आउँदा यो सङ्ख्या १०,००० नाघ्यो। आर्थिक वर्ष २०१३ मा ग्रिन कार्ड लिने नेपालीहरूको सङ्ख्या सबभन्दा बढी १३,०४६ पुग्यो र त्यस पछिका वर्षहरूमा ग्रिन कार्ड लिनेको सङ्ख्यामा केही कमी आएको देखिन्छ। पछिल्लो उपलब्ध तथ्याङ्क आर्थिक वर्ष २०१९ (October 1, 2018 – September 30, 2019) मा जम्मा १०,२०१ जना नेपालीहरुले अमेरिकाको ग्रिन कार्ड लिनेको देखिन्छ जुन अघिल्ला आर्थिक वर्षहरु भन्दा कम छ ।

 

टेबल १ मा देखाए जस्तै आर्थिक वर्ष १९८६ देखि २०१९ सम्ममा महिला र पुरुष गरी जम्मा १४३,७५५ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ।

 

Table 1. Number of U.S. Green Card & Citizenship Recipients, FY 1986- 2019

Fiscal Year Number of Nepali Receiving Green Card During the Fiscal Year Cumulative Number of Nepali Receiving Green Card Until the Fiscal Year Number of Nepali Receiving U.S. Citizenship During the Fiscal Year Cumulative Number of Nepali Receiving U.S. Citizenship Until the Fiscal Year Cumulative Number of Nepali Remaining in Green Card Status (after adjusting to those who became U.S. citizens) Until the Fiscal Year
FY 1986-Until 2002 6,311 6,311 1,339 1,339 4,972
FY 2003 2,095 8,406 318 1,657 6,749
FY 2004 2,842 11,248 408 2,065 9,183
FY 2005 3,158 14,406 417 2,482 11,924
FY 2006 3,733 18,139 575 3,057 15,082
FY 2007 3,472 21,611 638 3,695 17,916
FY 2008 4,093 25,704 953 4,648 21,056
FY 2009 4,514 30,218 1,632 6,280 23,938
FY 2010 7,115 37,333 2,185 8,465 28,868
FY 2011 10,166 47,499 2,235 10,700 36,799
FY 2012 11,312 58,811 2,448 13,148 45,663
FY 2013 13,046 71,857 2,711 15,859 55,998
FY 2014 12,357 84,214 2,888 18,747 65,467
FY 2015 12,926 97,140 4,225 22,972 74,168
FY 2016 12,851 109,991 5,004 27,976 82,015
FY 2017 11,610 121,601 4,509 32,485 89,116
FY 2018 11,953 133,554 5,352 37,837 95,717
FY2019 10,201 143,755 7,409 45,246 98,509
Total 143,755 143,755 45,246 45,246 98,509

 

आर्थिक वर्ष २०१९ को अन्त्यसम्म मा जम्मा १ लाख ४३ हजार ७ सय ५५ नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ भने त्यस मध्ये ४५ हजार २ सय ४६ नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ। ग्रिन कार्ड लिएको सङ्ख्याबाट अमेरिकाको नागरिकता लिएको सङ्ख्यालाई घटाउँदा आर्थिक वर्ष २०१९ को अन्त सम्ममा जम्मा ९८ हजार ५ सय ९ जना सँग अमेरिकाको ग्रिन कार्ड भएको देखिन्छ जसले गर्दा अमेरिकी नागरिकता लिने नेपालीहरूको सङ्ख्या आगामी वर्षहरूमा अझ बढ्ने निश्चित छ। यी तथ्याङ्क मा अमेरिकाको ग्रिन कार्ड त्यागेका व्यक्तिहरू तथा अमेरिकाको ग्रिन कार्ड लिए पछि मृत्यु भएका व्यक्तिहरूको सङ्ख्या लाई समायोजन गर्न नसकिएकोले यथार्थमा यी दुई पक्ष लाई समायोजन गर्ने हो भने ग्रिन कार्ड हुने व्यक्तिको सङ्ख्या केही कम हुन्छ।

 

छिमेकी को तुलनामा अमेरिकाको ग्रिन कार्ड लिएका नेपालीहरू ?

 

दक्षिण एसियाली सहयोग सङ्गठन अर्थात् सार्क देशहरू मध्ये आर्थिक वर्ष २०१९ मा सबभन्दा ठुलो जनसङ्ख्या भएको देश भारतबाट ५४ हजार ४ सय ९५ जना भारतीय र सबभन्दा कम जनसङ्ख्या भएको देश माल्दिभस् बाट जम्मा ८ जनाले अमेरिकाको ग्रिन कार्ड पाएको देखिन्छ। नेपाल बाट भने आर्थिक वर्ष २०१९ मा जम्मा १० हजार २ सय एक जनाले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ (Table 2)।

 

भुटान यस्तो देश रह्यो जहाँबाट आर्थिक वर्ष २०१९ मा अमेरिकी ग्रिन कार्ड लिनेभन्दा नागरिकता लिनेको सङ्ख्या बढी थियो – आर्थिक वर्ष २०१९ मा भुटान बाट अमेरिकाको ग्रिन’कार्ड लिने जम्मा १,४४१ रहेकोमा सोही आर्थिक वर्षमा ६,९२० जना भुटानीले अमेरिकाको नागरिकता लिएको देखिन्छ।  आर्थिक वर्ष २००८ मा जम्मा ४२ जना भुटानीले अमेरिकाको ग्रिन कार्ड पाएका थिए ।  तर, नेपालमा रहेका भुटानीहरू लाई सन् २००८ देखि अमेरिकामा पुनर्वास गराउन सुरु गरेपछि यो सङ्ख्यामा निकै वृद्धि भयो र आर्थिक वर्ष २००९ मा जम्मा ५९४ जना भुटान मा जन्मिएका व्यक्तिहरूले अमेरिकाको ग्रिन कार्ड पाएका थिए। अमेरिकी ग्रिन कार्ड लिने भुटानीहरूको सङ्ख्या अघिल्ला बर्सहरू भन्दा धेरैले बढ्न गई आर्थिक वर्ष २०१० मा ६,१०९; आर्थिक वर्ष २०११ मा १०,१३७ र आर्थिक वर्ष २०१२ मा १०,१९८ पुग्यो र क्रमशः कम हुँदै आर्थिक वर्ष २०१७ मा जम्मा २,९४० भुटानीहरूले अमेरिकाको ग्रिन कार्ड लिए भने आर्थिक वर्ष २०१८ मा अझ घटेर २,३५० र आर्थिक वर्ष २०१९ मा जम्मा १,४४१ जनाले अमेरिकी ग्रिन कार्ड लिएको देखिन्छ।  Table 2 मा भुटानीहरूले  अघिल्ला आर्थिक वर्ष हरूमा लिएका ग्रिन कार्ड को तथ्याङ्क समावेश गरिएको छैन वा देखाइएको छैन।  पछिल्लो आर्थिक वर्ष मा ग्रिन कार्ड लिने भन्दा अमेरिकाको नागरिकता लिने धेरै हुनुमा भुटानी शरणार्थी हरू धेरै जसोले ग्रिन कार्ड लिई सकेको र सुरुका वर्षमा ग्रिन कार्ड लिएकाहरूले नागरिकता लिन सुरु गरेकोले हुन सक्छ।  अर्को पक्ष, Department of Homeland Security को तथ्याङ्क जन्मिएको देश को आधारमा हुँदा भुटानी क्याम्प मा जन्मिएर अमेरिका बसाइ सरेका व्यक्तिहरूको गणना  नेपालबाट अमेरिका आई ग्रिन कार्ड लिनेको सङ्ख्या मा मिसिएको हुन सक्छ।

 

देश को जनसङ्ख्याको तुलनामा अमेरिका को ग्रिन कार्ड लिनेहरू सबभन्दा बढी भुटान र सब भन्दा कम मालदिभ्स रहेको देखिन्छ।  भारत बाट ५४,४९४ जना ले ग्रिन कार्ड लिएको देखिन्छ भने यो सङ्ख्या प्रति एक मिलिएन (१० लाख) जनसङ्ख्यामा जम्मा ४१ जना मात्र हुन आउँछ ।  जबकि नेपाल बाट प्रति मिलिएन जनसङ्ख्यामा मा ३३५ जनाले ग्रिन कार्ड लिएको देखिन्छ।  भुटानी शरणार्थी बाहेक सार्क राष्ट्र बाट आई अमेरिकाको ग्रिन कार्ड लिने नेपालीहरू सबभन्दा अग्र पंतिमा रहेका छन्।  (Table 2).

 

Table 2. The Total Population (2021 Estimate) and the Number of Persons from South Asian Countries Obtaining the U.S. Green Card, Fiscal Year 2019

Country Population in Million (2021 Est) * Number of People Receiving Green Card (FY 2019) Number of Green Card Recipients per Million Population
Afghanistan 37.46                10,136                    271
Bangladesh 164.09                15,176                      92
Bhutan 0.86                  1,441                  1,676
India 1,339.33                54,495                      41
Maldives 0.39                        8                      21
Nepal 30.42                10,201                    335
Pakistan 238.18                13,921                      58
Sri Lanka 23.04                  1,689                      73
South Asia 1,833.77              107,067                      58

*Source: CIA Factbook.

 

ग्रिन कार्ड लिने नेपालीहरूका विशेषताहरू

 

महिलाहरूको सङ्ख्या बढ्दो

आर्थिक वर्ष २००३ देखि आर्थिक वर्ष २००५ सम्म ग्रिन कार्ड पाउने नेपालीहरूको सङ्ख्यामा पुरुष र महिलाको अनुपात ५७:४३ अर्थात् ५७% पुरुष र ४३% महिला थिए । महिलाको अनुपात क्रमशः बढ्दै गएर आर्थिक वर्ष २०१२ मा यो अनुपात पुरुषको बराबरीमा पुग्यो भने आर्थिक वर्ष २०१६ देखि त ग्रिन कार्ड लिने महिलाको अनुपात पुरुषको भन्दा बढी हुन थालेको देखिन्छ। आर्थिक वर्ष २०१९ मा जम्मा १०,२०१ जना नेपालीहरूले ग्रिन कार्ड लिएको मा ५,३०४ जना महिला र ४,८९६ पुरुष थिए जसमा महिला को सङ्ख्या पुरुष को भन्दा ४०८ ले बढी थियो। (Table 3)

 

ग्रिन कार्ड पाउनेमा युवाहरू नै बढी

आर्थिक वर्ष २००३ देखिको तथ्याङ्कलाई केलाउँदा अमेरिकाको ग्रिन कार्ड लिने नेपालीहरूमा युवाहरू बढी देखिन्छन्। आर्थिक २००३ मा ग्रिन कार्ड लिने २,०९५ नेपालीहरू मध्ये करिब एक चौथाइ (२४%) व्यक्तिहरू १८ वर्ष भन्दा कम उमेर का थिए भने आर्थिक वर्ष २०१० देखि यो बढेर ३९% र आर्थिक वर्ष २०११ मा ४६% पुग्यो। आर्थिक वर्ष २०१९ मा यो फेरी घटेर १८% मा पुगेको छ। (Table 3)

 

आर्थिक वर्ष २०१० देखि २०१५ सम्म ग्रिन कार्ड पाउने युवाहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यो अवधिमा ग्रिन कार्ड पाउने नेपालीमध्ये ३०% भन्दा बढी व्यक्तिहरू १८ वर्ष वा मुनिका थिए। यसको कारण नेपालमा भुटानी शरणार्थी परिवार मा जन्मिएका व्यक्तिहरू पनि यसै वर्ग मा समावेश भएका हुन सक्छन्।

 

आर्थिक वर्ष २०१६ देखि क्रमशः १८ वर्ष वा कम उमेरका ग्रिन कार्ड लिने नेपालीको प्रतिशतमा कमी आएको छ । यसो हुनुमा नेपालमा भएको शान्ति सुरक्षाको कारणबाट अमेरिकामा शरणार्थी बनेका व्यक्तिहरू, जसमा ठुलो सङ्ख्यामा विद्यार्थीहरू थिए उनीहरू मध्ये धरै जना ले ग्रिन कार्ड लिई सकेकोले हुनसक्छ। अन्य कारणमा भुटानी शरणार्थीहरूका परिवारबाट नेपालमा जन्मिएका व्यक्तिहरू यसमा समादेश भएका र त्यसरी पुनर्वास गर्ने काम करिब सम्पन्न भैसकेको ले यो उमेर समूह बाट ग्रिन कार्ड लिने व्यक्तिको सङ्ख्या घटेको हुन सक्छ।

 

 

 

 

Table 3. Selected Demographic Characteristics of Nepali Receiving Green Card, FY 2003 – 2019

 

Fiscal Year (Green Card) Gender Age Marital Status
Male Female Under 18 18-24 years 25-34 years 35-44 years 45 years + Single Married
FY 2003 (2,095) 57% 43% 24% 16% 37% 16% 7% 42% 57%
FY 2004 (2,842) 57% 43% 24% 14% 36% 19% 7% 40% 59%
FY 2005 (3,158) 57% 43% 19% 16% 36% 19% 11% 39% 59%
FY 2006 (3,733) 55% 45% 22% 16% 32% 19% 11% 43% 55%
FY 2007 (3,472) 54% 46% 20% 15% 32% 20% 13% 40% 58%
FY 2008 (4,093) 54% 46% 20% 16% 33% 19% 12% 42% 57%
FY 2009 (4,514) 53% 47% 20% 16% 36% 16% 12% 40% 58%
FY 2010 (7,115) 53% 47% 39% 13% 24% 12% 12% 54% 44%
FY 2011 (10,166) 51% 49% 46% 13% 22% 10% 9% 59% 39%
FY 2012 (11,312) 50% 50% 46% 14% 22% 9% 9% 60% 38%
FY 2013 (13,046) 52% 48% 39% 17% 25% 10% 9% 56% 42%
FY 2014 (12,357) 51% 49% 34% 20% 28% 9% 9% 53% 45%
FY 2015 (12,926) 51% 49% 31% 21% 28% 9% 10% 50% 47%
FY 2016 (12,851) 48% 52% 25% 20% 31% 10% 14% 41% 55%
FY 2017 (11,610) 49% 51% 22% 20% 33% 10% 15% 40% 57%
FY 2018 (11,953) 48% 52% 22% 20% 33% 12% 13% 39% 58%
FY 2019 (10,201) 48% 52% 18% 19% 36% 12% 15% 35% 62%
Total 51% 49% 30% 18% 29% 12% 11% 47% 50%

 

आर्थिक वर्ष २००३ देखि २००९ सम्म ग्रिन कार्ड पाउनेहरूमा सबभन्दा बढी २५ देखि ३४ वर्ष उमेर समूहका थिए। तर, आर्थिक वर्ष २०१० देखि २०१५ सम्म सबभन्दा बढी १८ वर्ष वा सो भन्दा कम उमेरका नेपालीहरूको सङ्ख्या बढी रह्यो भने आर्थिक वर्ष २०१६ देखि पुन २५ देखि ३४ वर्षका उमेर समूहका व्यक्तिहरूको बाहुल्यता देखिन्छ । (Table 3).

 

विवाहित कि अविवाहित

आर्थिक वर्ष २००३ देखि २००९ सम्म ग्रिन कार्ड पाउने नेपालीहरूमा धेरैजसो विवाहित थिए। तर, आर्थिक वर्ष २०१० देखि २०१५ सम्म ग्रिन कार्ड पाउने नेपालीहरूमा अविवाहितको सङ्ख्यामा उल्लेखनीय वृद्धि भयो। यसो हुनुमा नेपालको शरणार्थी शिविरमा जन्मिएका र सन् २००८ देखि अमेरिकामा पुनर्वास गराइएका व्यक्तिहरू ले ग्रिन कार्ड लिएका को बाट पनि अविवाहित को सङ्ख्या बढेको हुन सक्छ । आर्थिक वर्ष २०१६ देखि पुनः अमेरिकाको ग्रिन कार्ड पाउनेमा अविवाहितको दाँजोमा विवाहित नेपालीहरू बढी थिए। (Table 3).

 

Graph 2. Marital Status of Green Card Recipients, FY 2003-FY 2019

 

 

ग्रिन कार्ड पाउने सबभन्दा बढी टेक्ससमा

आर्थिक वर्ष २०१० देखि २०१९ सम्मको तथ्याङ्कलाई केलाउँदा सबभन्दा बढी सङ्ख्यामा नेपालीहरूले ग्रिन कार्ड लिएको राज्यमा क्रमशः टेक्सस, न्यु योर्क र क्यालिफोर्निया पर्छन्। त्यसपछि भर्जिनिया, म्यारिल्याण्ड, पेन्सलभेनिया, म्याशाचुटेश, ओहायो, कोलोराडो, र जर्जिया राज्यबाट ठुलो सङ्ख्यामा नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ। यहाँ उल्लिखित तथ्याङ्कमा अमेरिकाको विभिन्न राज्यबाट ग्रिन कार्ड लिई एक राज्यबाट अर्को राज्यमा बसाइ सरेका नेपालीहरूलाई समावेश गरिएको छैन। (Table 4).

 

Table 4. Top 10 States in Terms of Number of Nepali Receiving Green Card, FY 2010-FY2019

 

टेबल ४ का अनुसार विगतका १० आर्थिक बर्सहरू को तथ्याङ्क लाई नियाल्दा टेक्सस, न्यू योर्क र क्यालिफोर्निया राज्य बाट धेरैको सङ्ख्या मा नेपालीहरूले ग्रिन कार्ड लिएको देखिन्छ।

आर्थिक वर्ष २०१० मा टेक्ससबाट जम्मा ८७६ जना नेपालीहरूले ग्रिन कार्ड लिएका थिए भने आर्थिक वर्ष २०१९ मा एस राज्यबाट सबभन्दा बढी १,४८१ जना नेपालीहरूले ग्रिन कार्ड पाएको देखिन्छ। त्यस्तै, न्युयोर्कबाट आर्थिक वर्ष २०१० मा जम्मा ८७२ जनाले ग्रिन कार्ड लिएकोमा आर्थिक वर्ष २०१९ मा एस राज्यबाट १,१९९ जनाले ग्रिन कार्ड लिए। आर्थिक वर्ष २०१० मा ८३७ जना नेपालीहरूले क्यालिफोर्नियाबाट ग्रिन कार्ड पाएका थिए भने आर्थिक वर्ष २०१९ मा एस राज्यबाट जम्मा १,०२५ जना नेपालीहरूले ग्रिन कार्ड पाएको देखिन्छ।

 

ग्रिन कार्ड पाउने मुख्य तरिकाहरू

 

आर्थिक वर्ष २०१९ मा मात्र अमेरिकाले संसारभरबाट विभिन्न वर्गमा गरी जम्मा १,०३१,७६५ जना लाई ग्रिन कार्ड प्रदान गर्‍यो भने यी मध्ये १०,२०१ जना नेपालीहरू थिए।

 

अमेरिकाको ग्रिन कार्ड पाउने मुख्य तरिकाहरू लाई ५ वर्गमा विभाजन गर्न सकिन्छ:

  • अमेरिकन नागरिकले आफ्ना नजिकका नातेदारहरूलाई प्रायोजन गरेर अमेरिकाको ग्रिन कार्ड दिलाउन सक्छन्
  • अमेरिकन नागरिकता वा ग्रिन कार्ड लिएका व्यक्तिहरूले प्रायोजन (sponsor) गरेर आफ्ना परिवारका सदस्यहरूलाई ग्रिन कार्ड लिन सहयोग गर्न सक्छन्
  • अमेरिकाका उद्योगधन्दा वा व्यवसायहरूले प्रायोजन गरेको अवस्थामा नेपालीहरूले ग्रिन कार्ड पाउन सक्छन्
  • डी भी चिट्ठा परेर (diversity visa lottery) अमेरिकाको ग्रिन कार्ड पाइरहेका छन्
  • शरणार्थीको रूपमा पनि धरै नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड पाएका छन्।

 

Graph 3. Number of Persons Born in Nepal Obtaining Lawful Permanent Resident Status During Fiscal Year 2019

 

अमेरिकन नागरिकका नजिकका नातेदारहरू

अमेरिकन नागरिकता लिएका व्यक्तिहरूले आफ्ना नजिकका नातेदारहरू (immediate relatives of U.S. citizens) लाई प्रायोजन गर्न सक्छन् जसमा नागरिकका श्रीमान् वा श्रीमती, २१ वर्ष भन्दा कम उमेरका अविवाहित छोरा छोरी र बुबा आमा पर्छन्।

 

यस वर्गमा आर्थिक वर्ष २०१९ मा संसारभरबाट ५०५,७६५ जनाले ग्रिन कार्ड पाएका मध्ये १,६३६ महिला र १,००१ पुरुष गरी जम्मा २,६३७ जना नेपालीहरूले पनि अमेरिकाको ग्रिन कार्ड पाई अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलन भएको देखिन्छ।

 

अमेरिकाले यस वर्गमा वर्षमा कति जनालाई ग्रिन कार्ड दिने भन्ने सीमा तोकेको छैन र साधरणतया प्रत्येक वर्ष दिइने ग्रिनकार्ड मध्ये ४० प्रतिशत ग्रिनकार्डहरू यस वर्गमा पर्छन्।

 

 

 

Graph 4. Number of Nepali Obtaining Green Card by Major Class of Admission, FY 2010-2019

 

अमेरिकन नागरिक वा ग्रिन कार्ड लिएका व्यक्तिका परिवारका सदस्यहरू

अमेरिकन नागरिकले नजिकका नातेदारहरूमा नपरेका परिवारका अन्य सदस्यहरू (family-sponsored preferences) जस्तै अमेरिकन नागरिकका विवाहित वा अविवाहित छोराछोरीहरू र तिनका छोराछोरीहरू, २१ वर्ष वा बढी उमेरका भाइ बहिनीहरू र तिनका श्रीमान् वा श्रीमती लाई पनि प्रायोजन गर्न सक्छन्। त्यस्तै, ग्रिन कार्ड लिएका व्यक्तिहरूले आफ्ना परिवारका सदस्यहरू जस्तै श्रीमान् वा श्रीमती र अविवाहित छोराछोरीहरू लाई प्रायोजन गर्न सक्छन्। आर्थिक वर्ष २०१९ मा मात्र एस वर्ग अर्थात् family-sponsored preferences संसार भरबाट २०४,१३९ जनाले ग्रिन कार्ड पाएका मध्ये ५०६ महिला र ३८९ पुरुष गरी जम्मा ८९५ जना नेपालीहरूले पनि आफ्ना अमेरिकामा भएका परिवारका सदस्य सँग पुनर्मिलन हुने अवसर प्राप्त गरे।

 

कामको आधारमा पाइने ग्रिन कार्ड

कामको आधारमा पाइने ग्रिन कार्ड अर्थात् employment-based preference मा प्राथमिकतामा परेका कामदारहरू, उच्च शिक्षा लिएका क्षमतावान् व्यक्तिहरू र काम सृजना गर्ने व्यक्तिहरू पर्छन्। अन्य देशका नागरिक जस्तै नेपालीहरू पनि यदि अमेरिकामा आवश्यक सिप र दक्षता प्रदान गर्न सक्छन् भने वा अमेरिकामा काम सृजना गर्ने गरी आवश्यक लगानी गर्छन् भने एस वर्गबाट ग्रिन कार्ड पाउन सक्छन्।

 

आर्थिक वर्ष २०१९ मा संसारभरबाट यस वर्गमा १३९,४५८ जनाले ग्रिन कार्ड पाएका मध्ये ७५४ महिला र ७७४ पुरुष गरी जम्मा १,५२८ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ।

 

ग्रिन कार्ड चिट्ठा

भाग्यशालीहरू (?) को लागि अमेरिकाको ग्रिन कार्ड प्राप्त गर्ने सबभन्दा सजिलो उपाय ग्रिन कार्ड चिट्ठा अर्थात् diversity visa lottery हुन सक्छ।

 

नेपालीहरू जुनसुकै देशमा बसोबास गरेका भए पनि नेपालमा जन्मेका भए र आवश्यक सर्त पुरा गरेका भए डी भी को लागि फर्म भर्न सक्छन्। यदि चिट्ठा पर्‍यो भने र अन्य आवश्यक सर्त पुरा भएका छन् भने चिट्ठा भर्दा समावेश परिवारका सदस्यसहित अमेरिकामा स्थायी बासिँदाको रूपमा जान पाउँछन्।

 

यस वर्गमा आर्थिक वर्ष २०१९ मा संसार भरबाट ४३,४६३ जनाले ग्रिन कार्ड पाएका मध्ये जम्मा १,२५० महिला र १,६६८ पुरुष गरी जम्मा २,९१९ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ। अमेरिकाले विगतमा जस्तै यस वर्ष को लागि संसारभरका देशहरू मध्ये अमेरिकामा धेरै कम सङ्ख्यामा बसाइ सरेका देशहरूबाट जम्मा ५०,००० जनालाई चिट्ठा प्रथा बाट ग्रिन कार्ड दिने गरी सीमा तोकेको छ।

 

सबै जसो यस्ता निवेदकहरू अमेरिका बाहिरका देशमा भए पनि अमेरिकामा अन्य भिसा मा भएका नेपालीहरूले पनि यो चिट्ठामा भाग लिन पाउँछन्। तर भारत र चिन जस्ता देश हरू, जहाँका मानिसहरू उच्च दरमा अमेरिकामा बसाइ सरेका छन्, यी देशका बासिन्दाहरू डी भी चिट्ठामा भाग लिन पाउँदैनन्।

 

शरणार्थी

शरणार्थी अर्को माध्यम हो जसबाट सबभन्दा बढी नेपालीहरूले ग्रिन कार्ड पाएका छन्। शरणार्थी मुख्यतया दुई थरी हुन्छन् – refugees र asylum । पहिलो वर्गमा नेपाल र अमेरिकाभन्दा बाहिर भएका नेपालीहरू पर्छन् जो नेपाल फर्कन सक्दैनन् वा फर्केमा ज्यानको खतरा महसुस गर्छन्। अर्को समूहमा पर्ने नेपालीहरू अमेरिकामा बस्छन् र नेपाल फर्कन सक्दैनन् वा फर्केमा ज्यानको खतरा महसुस गर्छन्।

 

अमेरिकामा शरणार्थी भएर ग्रिन कार्ड प्राप्त गर्ने धेरै जसो नेपालीहरू अमेरिकामा आई asylum मार्फत उक्त ग्रिन कार्ड प्राप्त गरेका हुन्। यस वर्गमा आर्थिक वर्ष २०१९ मा संसार भरबाट १०६,९११ जनाले ग्रिन कार्ड पाएका मध्ये १,१४७ महिला र १,०४५ पुरुष गरी जम्मा २,१९२ जना नेपालीहरू थिए।

 

सामान्यतया asylum पाएको एक वर्षपछि ग्रिन कार्डको लागि निवेदन दिन सकिने भएको र विगतका वर्षहरूमा उच्च दरमा नेपालीहरूले asylum पाएकोले शरणार्थीको माध्यमबाट ग्रिन कार्ड पाउनेको सङ्ख्या ठुलो भएको हुन सक्छ ।

 

यी बाहेक अन्य वर्ग मा आर्थिक वर्ष २०१९ मा जम्मा ३० जना नेपालीहरूले अमेरिका को ग्रिन कार्ड पाएको देखिन्छ।

 

सारांशमा

अमेरिकाको ग्रिन कार्ड पाउने नेपालीहरूको सङ्ख्या बढ्दो छ। सार्क राष्ट्रहरूमध्ये भुटान पछि देशको जनसङ्ख्याको अनुपात मा अमेरिकन ग्रिन कार्ड पाउनेहरूको सङ्ख्या नेपालीहरूको उच्च छ। त्यस्तै, नेपालपछि देशको जनसंख्याको अनुपातमा धेरै व्यक्तिहरूले अमेरिकाको ग्रिन कार्ड पाउने देशमा अफगानिस्तान पर्छ।

 

भुटानको सम्बन्धमा नेपालमा रहेका भुटानी शरणार्थीहरू सन् २००८ देखि अमेरिकामा पुनर्वास गर्न सुरु गरेकोले भएको हो। अफगानिस्तान का सन्दर्भमा त्यहाँ कार्यरत अमेरिकी सेनालाई सघाउने अफगानिस्तानिहरू अमेरिकामा बसाई सरेकाले विगतका केही वर्षदेखि ग्रिन कार्ड पाउने अफगानिस्तानिहरुको सङ्ख्या ठुलो भएको हुन सक्छ।

 

नेपालको सन्दर्भमा ग्रिन कार्ड लिनेको सङ्ख्या उच्च हुनुका मुख्य तीन कारणहरूमा: पहिलो, नेपालमा माओवादी आतङ्कबाट सृजित असुरक्षाको कारण ठुलो सङ्ख्यामा नेपालीहरू अमेरिकामा शरणार्थी बन्नुले हो। दोस्रो, डिभी चिट्ठाको माध्यमबाट अमेरिका आउने नेपालीहरूको सङ्ख्या ठुलो हुनु हो।

तेस्रो, अमेरिकन नागरिकता लिएका नेपालीहरूले आफ्ना नजिकका नातेदारहरूलाई ग्रिन कार्डको लागि प्रायोजन गरेकोले हो। सुरुका वर्षहरूमा महिलाको दाँजोमा पुरुषहरू बढी भएता पनि हाल सालैका वर्षहरूमा नेपाली महिला पनि पुरुष सरह वा अझ बढी सङ्ख्यामा ग्रिन कार्ड पाइरहेका छन्। ठुलो अनुपातमा ग्रिन कार्ड पाउने नेपालीहरू युवा उमेरका छन् र केही अपवाद का वर्षहरू बाहेक ग्रिन कार्ड पाउने नेपालीहरूमा विवाहितहरूको अनुपात बढी देखिन्छ।

 

ग्रिन कार्ड पाउनेहरू नेपालीहरू सबभन्दा बढी टेक्ससमा छन् र त्यसपछि ठुलो सङ्ख्यामा ग्रिन कार्ड वाला नेपालीहरू न्यु योर्क र क्यालिफोर्निया मा बस्दछन् । त्यसपछि भर्जिनिया, म्यारिल्याण्ड, पेन्सलभेनिया, म्याशाचुटेश, ओहायो, कोलोराडो, र जर्जिया राज्यमा छन्।

 

(लेखक डा. अर्जुन बन्जाडे एनआरएनए -अमेरिकाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकाल २०२१/२०२३ का लागि अध्यक्ष का उम्मेदवार हुन्।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected