नेपालीमा एउटा उखान छ– ‘घुमी फिरि रुम्जाटार ।’ हो यही ओखलढुंगा रुम्जाटारका रैथाने हुन– राजा घले । थातथलो रुम्जाटार भए पनि उनको जवानी काठमान्डौमै बित्यो । जर्जियाकाे  एटलान्टा मा बसाेबास गर्ने यिनै राजा घलेले  समाजसेजीको बेग्लै छवी बनाएका छन् । सायद राजा घलेलाई नचिन्ने अमेरिकी नेपाली समुदाय पनि कमै होलान । उनलाई चिन्न उनको नाम नै काफी छ ।
दुई दशक अघि पढ्नका लागी भनेर अमेरिका आइपुगेका थिए घले । जहाज उडाउने सपना बुन्दै पाइलट पढ्न अमेरिका आएका थिए । खानदानी परिवार दुख नभोगेको ठिटो सुरुमा अमेरिका आउदा अलमल पर्नु स्वभाविक थियो ।

यो मुलुकमा सुरुमा संघर्ष नगर्ने को होलान र । उनीपनि त्यसको अपवाद बन्न सकेनन् । सन् १९९९मा नेपालको दुई वटा डिग्रीको सर्टिफिकेट बोकेर अमेरिका आए उनी । आइएस्सी, बिएस्सी तथा  एमएड  त्रिभुवन विश्वविद्यालयबाट गरे । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाटै एमपिए पनि गरे । एक्लो छोरो लाडप्यारमा हुर्किए । राम्रै खानदानी परिवारमा हुर्किएकाले उनलाई दुख भन्ने कुरा महसुस नै भएन । तर अमेरिका आएपछि भने उनले दुख के हो भन्ने कुरा राम्रोसंग बुझे ।
‘यहा आएपछि सुरुमा दुःख नगर्ने सायद को होला र , युएसनेपाल पोष्टसंगको कुराकानीमा घलेले आफनो कथाको पोको फुकाउदै भने– ‘मपनि त्यसबाट अछुतो रहिन ।’ हुन त सुरुमा उनलाई अरुलाई जस्तै आफनै देश फर्को कि भन्ने झोक नचलेको पनि हैन ।
तर उनी पनि अरुले जस्र्त संघर्ष गदै यतै टिके । नेपालमा कहिल्यै काम के हो भन्ने थाहा नपाएका घलेले सुरुका दुई वर्ष अमेरिकामा हाड घोटेर कम्पनीमा काम गरे । पाइल्ट बन्ने सपना बोकेर यहाँआएका उनले त्यो  पाईलट काेर्ष पुरा गरे पनि  उनी कामका लागी कुनै एयरलाइन्स संग जाेडिएनन् ।

जोर्जिया राज्यको गभर्नर ब्राएन केम्प संग घले

शोकका लागी उनले सिंगल इन्जीन भएको जहाज किनिसकेका थिए आफैले । शोमा पनि राखेका थिए । पछि मुड बदलियो किनेनन जहाज । त्यसो त अमेरिका आउनु अगाडी युरोप लगायत विदेशका अन्य आधा मुलुक उनी घुमीसकेका थिए । यही भएर पनि घरपरिवारले उनलाई अमेरिका बस्ला भनेर सोचेनन् । आखिर उनी अमेरिकाको यो दलदलमा फसेर छाडे । २० वर्षृ भइसक्यो उनी यता हराइरहेका छन् । ‘मैले पनि यति लामो समय अमेरिका बसुला भनेर सोचिन केही भावुक हुदै उनले भने– ‘तर खै पत्तै नपाई यतिका वर्ष बितिसकेछ ।’

सुरुमा संघर्षमा बितेका उनका दिन अहिले रिटायर्ड लाइफ जस्तै समाजसेवामा बितिरहेको छ । उनी नेपालमा पढ्दा पनि कहिल्यै दोस्रो भएनन् । पढाईमा सधै अब्बल रहे । उनीसंगै पढदा दोस्रो हुने कति साथीहरु डाक्टर इन्जिनियर भइसकेका छन् । तर उनलाई पाइलट बनेर प्लेन उडाउन नपाएकोमा पछुतो छैन । सामाजिक काममा लाग्न पाएकोमा सन्तुष्ट छन् । घरमा पाँच छोरीछोरी जन्मिएपछि एक्लो छोरो भएर जन्मेका उनलाई मायाले राजा भन्न थाले । पछि उनको नाम नै राजा घले रहन पुग्यो । सानोमा सबैले के हो राजा भन्दै जिस्काउदा उनको चित्त दुख्थ्यो ।

पुर्व राष्ट्रपति रामवरण यादवसंग घले

सबैले के नाम राखेको भन्दै जिस्काउथे रे । अहिले त उनलाई आफनो नाम नै अरु भन्दा युनिक लाग्छ । ‘राज मात्रै नाम भएको कमै भेटन् सकिन्छ । कसैको राजबहादुर कसैको के होला तर राजा चाही बेग्लै नाम छ उनले भने– ‘सानोमा घरमा मायाले राजा भन्दा भन्दै राजा नामले चिनिए ।’ गुरुङ समुदायमा हुर्किएका उनको एउटा बेग्लै बानी छ । उनी शुद्ध शाकाहारी हुन । माछा मासु केही खादैनन नत चुरोटको अम्मल छ नत रक्सी नै पिउछन् । साहित्य र संगीतमा रुची भएका उनी गीत कविता पनि लेख्छन् । उनका केही गीत रेकर्ड पनि भएका छन् ।

घलेको व्यवसायिक पाटो
धेरैलाई लाग्न सक्ला उनी अमेरिकामा समाजसेवा मात्रै गरेर कसरी टिकीरहेका छन् । आफनो व्यवसायबाट हात धोएर बसेको दुई वर्ष मात्रै भएको छ उनको । सुरुमै उनी व्यवसायी भएका हैनन । अरुकोमा काम गरे । काम सिके । २००१ मा आफनै लगानीमा स्टोर खोले । तर उक्त स्टोर एटलान्टाको ग्रामीण भेगमा थियो । स्टोर त्यहाँ हुदा उनलाई एटलान्टाका कार्यक्रममा आइजाइ गर्न कठिन भइरहेको थियो । साथीभाईले पनि कता गाउतिर लुकेर बसेको भनेर कराउन थाले उनलाई । उनलाई पनि त्यस्तै लाग्यो । हिडे अनि त्यो स्टोर पनि बेचेर एटलान्टाको सहरीक्षेत्रमा । एटलान्टाको कार्टसभिल क्षेत्रको छेउघाउमा त्यसपछि खोले उनले भव्य सपिङ कम्पलेक्स नै । सन् २००१मा १.५ मिलियन डलर अर्थात १५ करोड रुपैयामा त्यतिबेला उक्त सपिङमल उनले किनेका थिए । यो ठुलो लगानीको सपिङमल नै उनको व्यवसायको खुडकिलो चढने माध्यम बन्यो । कल्पनै नगरेको आम्दानी सपिङमलबाट हुन थाल्यो ।

प्रधानमन्त्री केपि आेली संग एटलान्टामा घले

त्यसपछि उनलाई व्यवसायमा फर्केर हेनु परेन । सपिङ मलको व्यवसायमा सफलता हासिल गरे । एटलान्टामा त्यतिबेला खासै नेपालीहरुले व्यवसाय फस्टाएको थिएन । नेपाली समुदायबाट यतिठुलो व्यवसायमा हात हाल्ने उनी पहिलो नेपाली थिए । घर किन्ने नेपालीमा पनि उनी अगाडी थिए । उनी भन्दा अगाडी आउनेले पनि त्योबेला व्यवसाय सुरु गरसकेका थिएनन् । त्यहि सपिङमलले उनलाई मनग्गे आम्दानी संगै सफल व्यवसाय बनायो । १५ वर्ष सम्म उनले उक्त सपिङमल चलाए । त्यो अवधीमा कमाए पनि । पैसा मात्र सबथोक ठानेनन उनले । दुई वर्ष अघि उनले उक्त सपिङ मल बिक्री गरेर आफनो सम्पुर्ण समय नेपाली समाजका लागी दिएका छन् ।
स्वदेशमै केही गर्ने चाहनाले होला अहिले उनी नेपालमै रियल स्टेटमा पनि लगानी गरिरहेका छन् । उनको रियल स्टेट व्यवसाय नेपालमा फस्टाउदो छ । अबको केही वर्षमा नेपाल नै फर्केने उनको सोच छ । तर कहिले भन्ने बारेमा भने केही बताएनन । काठमान्डौ आसपासमा रिसोर्ट, अस्पपताल तथा कलेज खोल्ने तयारीमा समेत उनी छन् । त्यसो त उनी वर्षको एक पटक नेपाल पुगेकै हुन्छन् । कहिले ६ महिना नेपाल त कहिले ६ महिना अमेरिकातिर उनको बसाई हुन्छ । त्यसो त उनका छोरा र छोरी पनि नेपालमै छन् । उनीहरु अमेरिका  छाडेर नेपालमै गएर पढिरहेका छन् ।

 

संगीतकार अम्बर गुरुगसंग कुनै बेला घले

सामाजिक क्षेत्रमा अब्बल
नेपालमा कुनै कुराको कमि थिएन उनलाई । पाँच दिदि बहिनी मध्येका एक्ला छोरा हुन उनी । बाबु आमाको चाहना पनि छोराको विदेश जाओस भन्ने थिदै थिएन । उनी पनि पाइलट बन्ने भन्दै पढन यता आए । छोराले पिएचडी गरोस र पैसा कमाओस भन्ने चाहना बाबुको थियो । पिएचडी पनि नगरेपछि अमेरिका किन बसको भन्दै बाबुले भन्ने गरेको उनी बताउछन् । त्यता केको लागी बसेको भनेर बाबुले भन्ने गरे पनि उनी भने पछि सामाजिक क्षेत्रमा होमिए ।

सपिङमलको व्यवसायबाट पैसा पनि नकमाएका हैनन उनले । तर राम्रो आम्दानी दिइरहेको त्यहि सपिङमलको व्यवसाय उनले संघ संस्थामा आवद्धता र बढ्दो सामाजिक कामको व्यस्तताले बेच्न बाध्य भए । ‘व्यवसायको आम्दानी राम्रै थियो’ तर यता समाजसेवातिर व्यस्त हुने चाहनाले बेच्न बाध्य भए उनले कुराकानीको क्रममा भने– ‘पैसा मात्र सबथोक हैन भन्ने लाग्यो र सामाजिक काममा आफुलाई अग्रसर गराउन थाले । आत्मसन्तुष्टिका  लागी उनी सामाजिक सेवातिर होमिए ।

सेवाकाे सम्मान-हिराे अफ द एयरले सम्मानित हुदाँ एटलान्टामा

‘अरुथोक नकमाए पनि साथीभाई चाही कमाए जस्तो लाग्छ’ उनले भने– ‘यो नै मेरो जिन्दगीको ठुलो कमाई हो जस्तो लाग्छ ।’ अहिले उनी पिपिएल अर्थात प्राइभेट लाइसेन्सको सटिफिकेट घरमै थन्काएर आफनो दिलो ज्यान एटलान्टाकाे नेपाली समाजका लागी  लगाएका छन् । उनले दुख पाएका देखि मठमन्दिर लगायत विभिन्न कामका लागी पनि मन खोलेर चन्दादान दिन्छन् । कोही नेपालीलाई मर्का पर्दा सहयोग गर्न कत्ति हिच्किचाउदैनन ।

उनको सामाजिक योगदानको ख्याति एटलान्टा मात्रै हैनन नेपालीहरु बसोबास गर्ने अन्य राज्यहरुमा पनि फैलिएको छ ।नेपाली समाजमा उनलाई धेरैले सामाजिक अभियान्ताको रुपमा चिन्दै आएका छन् । उनी एटलान्टामा नेपाली समाजमा मात्र हैनन अमेरिकन समाजमा पनि त्यतिकै लोकप्रिैय छन् । अमेरिकी स्थानिय सरकार, गर्भनर, सिनेट लगायतका सबै अमेरिकी व्यक्ति र संस्थाले उनलाई विभिन्न कार्यक्रममा अतिथीको रुपमा डाक्ने गर्छन् । अमेरिकी समाजमा पनि उनको पहिचान बेग्लै भइसकेको छ । दिनहु उनी विभिन्न कार्यक्रममा सहभागी हुने गर्छन् । उनलाई कार्यक्रममा सहभागीताले भ्याइनभ्याई हुन्छ । ‘कहिलेकाही ६ वटा सम्म दिनमा कार्यक्रम भ्याउनुपर्छ’ व्यस्त समय निकालेर कुराकानी गदै गरेका घलेले भने–‘साता दिनै यी यस्तै गतिविधिमा समय व्यतित भइरहेका छन् ।’ बिगत दुई वर्षदेखि उनी पुर्ण रुपमा रिटायर्ड लाइफ जस्तै व्यापार व्यवसाय छाडेर सामाजिक क्षेत्रमा खटिएका छन् ।

सिएनएन हिराे अनुराधा काेईरालासंग एटलान्टामा घले

एटलान्टामा नेपाली समुदायको आफनै सामुदायिक भवन नहुदा कुनै पनि कार्यक्रम गर्न निकै समस्या भइरहेको थियो । उनले आफनै पहलमा डेढ लाख डलर संकलन गरेर नेपाली कल्चरल सेन्टर बनाउन पहल गरे । कुनै पनि सामाजिक काम गर्नु प¥यो भने उनी जहिल्यै अग्रसर हुन्छन् । उनको यही बानीको एटलान्टाबासी नेपालीले मुक्तकण्ठले प्रशंसा गदै आएका छन् । सामाजिक योगदानकै कदर गदै उनलाई एटलान्टा नेपाली समाजले ‘सामाजिक हिरो’ को रुपमा समेत सम्मानित गरिसकेको छ ।

सबैका प्रिय घले

कोही नया मान्छे एटलान्टा पुगे भने आतिथ्य सत्कार गर्न संधै अगाडी लम्किन्छन् । एटलान्टाको जिम्मी कार्रटर रोड सेन्टरमा रहेको आफनो घरमा धेरैलाई खानपीन र बाँसको व्यवस्था गर्न हिच्किचाउदैनन ।
यही भएर पनि एटलान्टा पुग्ने जोकोही पनि राजा घलेलाई नै सम्झन्छन् । एटलान्टामा नेपालबाट जाने उच्च पदस्थ व्यक्तिहरु त्यहा“ जादा उनको आतिथ्यतामा पुग्छन् । उनलाई नै सम्झन्छन् पनि । उनले नेपालका प्रधानमन्त्री केपी ओली देखि पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल भिम रावल देखि अन्य विभिन्न पार्टीका नेताहरुलाई आतिथ्य दिएका छन् ।

बलिउड गायक बप्पीलरी लाई सम्मान गर्दै एटलान्टामा

त्यस्तै नेपालबाट जाने कलाकाहरु दिप श्रेष्ठ मिरा राणा, भुवन केसी देखि अन्जु पन्त लगायत हरेक जसो कलाकारलाई आतिथ्यता दिएका छन् । उनी प्राय नेपालका सबै क्षेत्रका सेलिब्रेटीलाई एटलान्टामा स्वागत मात्र हैन आतिथ्यता र घुमघाम समेत गराउछन् । कतिपय कलाकारलाई त स्पोन्सर गरेर कार्यक्रममा समेत डाकेका छन् । यही भएर पनि नेपालबाट एटलान्टा पुग्नेहरु उनी भन्ने बितिक्कै भुतुक्कै हुन्छन् । उनमा घमण्ड र अहंमता भन्ने कुराको लेस सम्म पनि पाइदैन । यसैले एटलान्टा पुग्नेहरु उनको आतिथ्यतामा जान्छन् । नेपालबाट जानेहरुलाई आतिथ्यता संगै उनी स्वागत र सम्मान गदै घुमघाम गराउछन् । नेपालबाट मात्र हैन अमेरिकाको विभिन्न राज्यबाट एटलान्टा पुग्नेहरुलाई सहयोग र सत्कारमा कुनै

हिच्किचावट गदैनन । अहिले उनले आफनो घरको तीन वटा कोठा एटलान्टा पुग्ने पाहुनाका लागी भनेर छुटाएका छन् । तीन कोठा सधै अतिथी आतिथ्यताका लागी खाली राखेका छन् । हरेकलाई सम्मान गर्न जानेका घले कसैको मन दुखाउने काम गदैनन् । सहयोगी आत्मीयता र मृदुभाषी स्वभावले गर्दा उनी सबैको प्रिय पात्र बनेका छन् ।

बलिउड अभिनेता शत्रुघ्न सिन्हासंग घले

संघ संस्थामा सक्रियता

संस्थामा हुँदा होस नहुदा उनी सामाजिक काममा त्यतिकै क्रियाशिल छन् । नेप्लिज एशोसिएसन इन सायथ इष्ट अमेरिकाको २००९ मा पहिलो निर्वाचित अध्यक्ष रहेका घले अन्तराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिलका महासचिव समेत भए ।
त्यस्तै नेपालमा पर्यटन प्रर्वद्धन गर्न सन् २०११ म भिजिट नेपाल –२०११ को अध्यक्ष पनि भएका थिए । यसै गरी उनी नेपाली कम्युनिटी फर युएस सेनसियुसको संयोजक पनि बने । उनी नेपाल सरकारले घोषणा गरेको पर्यटन दुत समेत हुन ।

भुपु प्रधानमन्त्री मरिचमान सिंहसंग घले

राजनिति प्रति खासै झुकाव नभएका उनले गैरआवासिय नेपाली संघमा समेत आवद्ध रहेर काम गरे । उनी एनआरएन अमेरिकाको पुर्व आइसीसी सदस्य र तथा एनआरएन एनसिसि अफ युएसएको सह–अध्यक्ष भएर काम गरे । त्यतिबेला एनआरएनएमा अमेरिका काे प्रतिनिधित्व  गदै शेष घले अध्यक्ष भएको कार्यकालमा सम्मेलनमा काठमान्डौ गएका थिए । यसका अलवा उनी दर्जनौ स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थामा आवद्ध रहेर काम गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected