शिव शर्मा

अमेरिका– प्रदीप गुरुङ लाहुरे बस्ती रहेको पोखराको रैथाने हुन । पोखरामा उनलाई नपुग्दो केही थिएन । सानोतिनो उद्योग पनि चलाउथे । लायन्स क्लब मार्फत सामाजिक सेवामा लागीरहेका थिए । राम्रै चल्दै थियो नेपालमा । अनायसै उनी पर्यटक भिषामा अमेरिका हानिए । यता आएपछि उनलाई यताको मोहले तान्यो र यतै स्थायी रुपमा बसोबास गर्न थाले ।
सुरुवाती दिनमा निकै ठक्कर हन्डर खाएर अमेरिकामा टिकेका प्रदीप १८ पाग्रे ट्रक चलाउदा चलाउदै अहिले ट्रक कम्पनीको मालिक भइसकेका छन् ।

कम्पनी कार्यलयका कर्मचारीसंग गुरुंग र भट्टराई

उनले अमेरिकाको भर्जिनियामा ब्लु डलफिन ट्रान्सफोर्ट नामको कम्पनी खोलेर आयात निर्यातको व्यापार गरेर छोटो समयमै मल्टि मिलियिनर व्यवसाय बनिसकेका छन् । अहिले उनिसंग ४२ वटा १८ पाग्रे ट्रक रहेको छ । एउटा ट्रकको मुल्य झण्डै १ लाख ४० हजार डलर हाराहारीको छ । उनको कम्पीले वार्षिक १२० देखि १५० करोड रुपैयाको कारोबार गर्छ । उनको कम्पनीले अमेरिका ठुलो कम्पनीहरु जस्तै अमेजन, होमडिपो, रविन्सन, काग्रो मेटिक, राइट एड, लोज लगायतको सामानहरु कम्पनीहरु ढुवानी गर्ने काम गर्छ । अमेरिकाबाट विदेशमा कार्गे मार्फत निर्यात मात्र हैन सामानहरु अमेरिकामा विभिन्न मुलुकबाट आयात गरेर कार्गे कन्टेनरहरु मार्फत अमेरिकाका ठुला कम्पनीहरुमा ढुवानी गर्ने काम गर्छ । अहिले उनको कम्पनीमा ५५ जना अमेरिकन देखि नेपाली कर्मचारीले काम गर्छन ।
उनको कम्पनीमा दुई मिलियन भन्दा बढी लगानी भइसकेको छ । भारतबाट आउने औषधी भर्जिनिया राज्यको सबै उनको कम्पनीले हेन्डल गर्छ ।
यो सबैको सफलताको पछाडी भने उनलाई हातेमालो गर्ने गुल्मीका युवा मेकानिल इन्जिनियर शंकर भट्टराईको ठुलो देन रहेको छ । उनको साथ र सहयोगले आज उनी यो अवस्थामा पुगेका हुन । शकर भट्टराई उनको व्यवसायिक साझेदार हुन । दुबै मिलेर अहिले कम्पनी हाकीरहेका छन् ।

अमेरिकन मिडियालाई अन्तर्वाता दिदै गुरुंग र भट्टराई

ट्रक ड्राइभर हुदै टान्सपोर्ट कम्पनीको मल्टि मिलियिनर व्यवसायी

६ वर्ष अघि मात्र उनी भिजिटर भिषामा ६ महिनाकी सानी छोरी च्यापेर परिवार सहित अमेरिका आएका थिए । सोसल र ग्रिनकार्ड नभएपछि सुरुमा काम पाउने कुरै थिएन । फेरि अमेरिकामा आफन्त भन्ने कोही थिएनन उनको । तर पनि अमेरिकामा टिक्नै प¥यो । सुरुमा एक जना भारतीयको सुन पसलमा काम सुरु गरे । राम्रो समय नदिने र कमाई पनि हुन नसकेपछि सात महिना गरेर छाडी दिए दिए । फेरि उनले भारतियकै रेष्टुरामा काम थाले । काम थालेको ६ दिनमै उनलाई कामदारले साहुलाई नहुने कुरा लगाइदिदा कामबाट निकालिए । फेरि एक जना सरदारको कष्मेटिक पसलमा काम सुरु गर्न पुगे । त्यो पनि उनका लागी त्यस्तै भयो । दुई महिनामै पसल बन्द भयो । पोखरातिरकै एक जना चिनेजानेका व्यक्तिको ग्यास स्टेशनमा काम गर्न पुगे । त्यहा“ उनलाई पैतलाको धुलो भन्दा पनि नराम्रो व्यवहार गरेको उनी बिगत सम्झदै भन्छन् । आत्मसम्मानमा चोट पुगेपछि उनले त्यहा पनि तीन चार महिना काम गरेर छाडीदिए ।
सबैतिरको काम अनुभव लिएपछि उनले धेरै विचार र विमर्श गरे । कुन काम गर्दा भविष्यमा राम्रो गर्न सकिन्छ भनेर सोचे । कहिल्यै दुख भन्ने थाहा नपाएका प्रदीपले धेरै दुख अमेरिका आएपछि नै झेले । त्यसपछि उनले २०१६ मा १८ पाग्रे ट्रक चलाउने निधो गरे । ट्रक चलाउदा पनि सुरुवातको एक वर्ष कमाई खासै हुदैन । कहिल्यै यस्तो पेशा नगरेका उनले यही पेशामा भविष्य देखे । सुरुवाती चरण उनलाई निकै सकस भयो । परिवार सबै आफै हेर्नु पर्ने र एउटाको कमाईले टिक्न पनि मुस्किल थियो अमेरिकामा । त्यतिबेला उनको कोठाको भाडा ७ सय ५० थियो । सातामा जम्मा २५० डलर कमाउथे । ट्रक चलाएर हिडदा ताकाको सुरुवाती दिन उनका लागी निकै कठिन भयो ।

जीवनसंगिनी संग गुरुंग

सात दिनको सुत्केरी श्रीमति छाडेर उनी ट्रक चलाएर ७० दिनमा घर समेत फिरेको तितो अनुभव छ । आर्थिक रुपले निकै कमजोर दिनहरु थिए उनका लागी त्यो । सात दिनको छोरी र दुई वर्षकी अर्के छोरी र सुत्केरी श्रीमति छाडेर हिडेको दिन सम्झन्छन् उनी । तर उनले हिम्मत हारेनन । एक वर्षपछि उनको आम्दानी बढदै गयो । ट्रक चलाएको डेढ दुई वर्षमै उनले हप्ताको ४५ सय डलर सम्म ल्याउन थाले ।
लामो रुटमा ट्रक चलाएर जानुपर्ने र परिवार संग दुई तीन महिनापछि भेट हुने त्यो उनका लागी निकै नरमाइलो पल पनि हुन्थयो । त्यसपछि उनले बिहान ट्रक चलाएर बेलुका फर्कन मिल्ने नजिकको रुटको ड्राइभरको काम पाए । यसपछि भने उनलाई केही रमाइलो लाग्न थाल्यो । कमाइ राम्रो हुन थालेपछि उनले आफनै ट्रक किन्ने निधो गरे । उनलाई कसैले सुरुमा ट्रक किन्न ऋण पत्याएनन ।उनको क्रेडिट पनि थिएन । नजिकै उनको अपार्टमेन्टमा बस्ने गुल्मीका शकर भट्टराईले २२ हजार डलर सहयोग गरे । थपथाप गरेर पुरानो ट्रक उनले ६० हजारमा खरिद गरे । ट्रक किनेको डेढ महिनामै दुर्घटनाामा परेर पल्टियो । तीन महिना ट्रक थन्कियो । चार महिनामा ट्रक मर्मत भएपछि फेरि सुरु गरे चलाउन । आफनै ट्रक भएपछि हप्तामा ५५ सय डलर सम्म सबै खर्च कटाएर घरमा ल्याउथे, गुरुङले भने– ‘कुनै दिन विदा नबसी कडा मिहिनेत गरेर लागे ।’ उनी सामाजिक संजालहरुबाट समेत टाढिए । केही गर्ने अभिलाषामा कडा मिहिनेतमा उर्तिए ।

कम्पनीका ट्रकहरु

नेपालमा पनि व्यापार व्यवासय गरेका प्रदीपलाई अमेरिकामा पनि व्यवसाय गर्ने मोहले छाडेन । एउटा ट्रकबाट तीन वटा आफनै ट्रक बनाए । ट्रक चलाउने क्रममा उनले ट्रक व्यवसायको नालीबेली बुझीसकेका थिए । अब उनलाई बृहत रुपमा व्यवसायमा जानुपर्छ भन्ने आट पलायो । युवा जोश र जागरले भरिएका गुल्मीका शंकर भट्टराईलाई २०१८ मा व्यवसाय साझेदारका लागी पहिलो पटक अनुरोध गरे । मेकानिकल इन्जिनियरिङ पढदै गरेका भट्टराईले उनको अनुरोध अस्वीकार गरिदिए ।
तर उनले व्यवसाय निरन्तर गदै गए । ठिक एक वर्षपछि फेरि तिनै भट्टराईलाई अनुरोध गरे व्यवसाय साझेदार बन्न । त्यो पटक पनि उनले मानेन । २०२० को कोरोना महामारी कालमा प्रदीपले राखेको व्यवसाय साझेदारको प्रस्ताव शंकर भट्टराईले स्वीकार गरे । अहिले भट्टराईको साझेदारीमा उनको ट्रक व्यवसाय बृहत भएको छ । अहिले उनको कम्पनीको सातकै ३ लाख डलरको व्यापार हुन्छ । अमेरिकाको कृषिजन्य सामान बाहिर मुलुकहरुमा निर्यात बढी गर्छ उनको कम्पनीले । त्यस्तै बाहिरी मुलुकका सामान अमेरिकामा पनि त्यतिकै आयात गरेर यहा“का ठुला कम्पनीहरुम्ँ ढुवानी गर्छ । कम्पनीमा अहिले २२ लाख डलर भन्दा बढी लगानी भइसकेको उनले बताए ।

शंकर भट्टराई संगको भेट नै ट्रनिङ प्वाइन्ट

प्रदीप गुरुङ बस्ने अपार्टमेन्ट नजिकै गुल्मी स्थायी घर भएका शंकर भट्टराई छिमेकी भएर आइपुगे । भट्टराई त्यो बेला विद्यार्थी थिए । उनी अध्ययन गदै एउटा ग्यास स्टोरको व्यवस्थापनको जिम्मेवारी समाहलेका थिए । त्यही क्रममा प्रदीप ट्रक चलाउदै गरे पनि त्यति सम्पन्न भइसकेका थिएनन । त्यही क्रममा भट्टराई संग गुरुङको मित्रता झंयागियो । सुरुमा ट्रक किन्दा आफनो क्रेटिड समेत नबनेकोले अरुसंग ऋण माग्दा गुरुङलाई कसैले पत्ताएनन । त्यतिबेला भट्टराईले नै उनलाई २२ हजार डलर ट्रक किन्न सहयोग गरेका थिए । यो नै प्रदीपका लागी व्यवसायी गर्ने एउटा कडी बन्यो ।

व्यवसायिक साझेदार शंकर भट्टराईसंग प्रदिप गुरुंग

मेकानिकल इन्जिनियरिङ पढदै गरेका भट्टराईले गरेको सहयोग सहित अन्य रकम जोरजाम गरेर प्रदीपले सुरुमा पुरानो ट्रक किनेका थिए । त्यसपछि भने उनलाई फर्केर हेर्नु परेन । उनले तीन वटा आफनै निजी ट्रक किनिसकेका थिए । यसपछि भने उनमा हिम्मत बढेर गयो । दुई पटक आफनो ट्रक व्यवसायको साझेदार बन्न भट्टराईले अस्वीकार गरेका थिए । तेस्रो पटकमा भने मेकानिकल इन्जिनियर भइसकेका शंकरले जागीरको अवसर छाडेर प्रदीपकै व्यवसायमा साझेदारी गरे । ‘सुरुमा उनले ट्रक किन्नका लागी सहयोग नगरेको भए आज म यो स्थान सम्म सायदै आउने थिइन होला’ गुरुङले भने– ‘उहाकै साथ र सहयोगले आज छोटो समयमै व्यवसायमा सफलता हासिल भएको छ ।’ अहिले भट्टराई र गुरुङ संगै मिलेर कम्पनीलाई अगाडी बढाइरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected